काठमाडौँ : १०औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ।
सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो। त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलंकामा खेलाइएको थियो। यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२औँ संस्करण हुनेछ
बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान
र श्रीलंकाले एक-एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन्। नेपाल, भुटान र पाकिस्तानले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन्। भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो। श्रीलंकाले १९९५, बंगलादेशले २००३, माल्दिभ्सले २००८ र अफगानिस्तानले २०१३ मा उपाधि जितेका थिए।
दुई पटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतिजा निकाल्न सकेको छैन। पछिल्लो पटक सन् २०१३ मा काठमाडौँमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुगेको थियो तर अफगानिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। यसअघि सन् १९९३, १९९९, १९९५ र २०११ मा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो।
यो संस्करणमा समूह ए मा रहेको नेपालले पाकिस्तान, भुटान र आयोजक टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। तुलनात्मकरुपमा सजिलो समूहमा परेको नेपालका लागि इतिहास रच्ने अवसर जुरेको छ भन्नुपर्छ।
नेपाली टोलीका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको पहिलो लक्ष्य समूहको विजेता हुँदै सेमिफाइनलसम्म पुग्ने बताए। महर्जनलाई प्रशिक्षणमा किरण श्रेष्ठ र नवीन महर्जनले सहायकको रुपमा साथ दिइरहेका छन्।
‘प्रतियोगितामा भारतले यू-२३ टोली सहभागी गराउने र अफगानिस्तान साफबाट बाहिरिएको स्थितिका कारण नेपाल उपाधिको मुख्य दाबेदार बन्न पुगेको छ’ उनले भने।
करीब साढे दुई वर्षदेखि नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी सम्हाल्दैआएका जापानी प्रशिक्षक ग्योतोकु कोजी प्रवेशाज्ञाका कारण जापान फर्किएका छन् र उनको स्थान महर्जनले लिभएका छन्। नेपाली टोलीले साफ च्याम्पियनसिपलाई लक्ष्य गरी तीन महिना बन्द प्रशिक्षणमा रहेको थियो। यसबीचमा नेपाली युवा टोलीले एशियाली खेलकूदमा सहभागिता जनाएको छ भने थाइल्याण्डको युवा टोलीसँग मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मा यो वर्ष नयाँ नेतृत्व आएको छ। दुई दशकभन्दा बढी एन्फा हाँकेको पूर्व कप्तान गणेश थापा समूहलाई कर्मा छिरिङ शेर्पा समूहले विस्थापन गरेको छ र यसले आफूलाई परिवर्तनको पक्षधर भएको दावा गर्छ। फुटबलको विकासमा कुनै कसर बाँकी नराख्ने बताउने वर्तमान नेतृत्वले अहिले फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल प्रतियोगितासमेत शुरु गरिरहेको छ।
साफ च्याम्पियनसिपको तयारीमा रहँदै गर्दा दुई साताअघि नेपालको यू-२३ टोलीले इण्डोनेसियामा एशियाली खेलकूदमा सहभागिता जनायो। समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेलेको थियो तर, तीनै खेलमा पराजय बेहोर्यो।
सहायक प्रशिक्षकको भूमिकामा इण्डोनेशिया गएका प्रशिक्षक महर्जनले आफ्नै कमजोरीका कारण एशियाली खेलकूदमा हार बेहोर्नुपरेको स्वीकारे। त्यसै कमजोरीलाई सच्याएर साफमा राम्रो प्रदर्शन गर्ने उनको अठोट छ।
साफ च्याम्पियनसिपको सात पटकको विजेता तथा साविक विजेता भारतले यसपटक यू-२३ टोलीलाई खेल्न पठाउने निर्णय गरेको छ। भारतीय प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनले यू-२३ टोलीको घोषणा गरिसकेका छन् र यो टोलीले अष्ट्रेलियामा विशेष तयारी गरिरहेको छ।
भारतको यो निर्णय नेपालका लागि सुखद हुनसक्छ। दक्षिण एशियाली फुटबलमा नेपालले हराउन बाँकी कुनै टोली छैन। तर, एकै प्रतियोगितामा सबैलाई हराउन सकेको छैन। विगतमा पटक पटक नेपालका अगाडि बाधकको रुपमा भारत नै देखापरयव। माल्दिभ्सको टोलीमा पनि उसका भेट्रान स्टाइकर अली अस्फाक छैन र उनको अनुपस्थितिमा टोली मनोवैज्ञानिक रुपमा कमजोर हुने ठानिएको छ। श्रीलंका र पाकिस्तान फिफा वरियतामै नेपालभन्दा तल छन्।
पछिल्लो फिफा वरियतामा दक्षिण एशियाली मुलुकमध्ये भारत सबैभन्दा अग्रस्थानमा छन्। भारत ९६औँ स्थानमा रहँदा १५०औँ स्थानमा माल्दिभ्स, १६१औँ स्थानमा नेपाल, १८ औँ स्थानमा भुटान, १९४औँ स्थानमा बंगलादेश, २००औँ स्थानमा श्रीलंका र २०१औँ स्थानमा पाकिस्तान छन्।
दक्षिण एशियाली खेलकूदमा नेपालको चीर प्रतिद्वन्द्वीका रुपमा रहेको भारतले आफ्नो ‘सिनियर’ टोली नखेलाउने भएपछि नेपालले त्यसको फाइदा उठाउन सक्छ। तीन वर्षअघि साग गेम्समा नेपालको युवा टोलीले भारतको यू-२३ टोलीलाई हराउँदै स्वर्ण जितेको थियो।
त्यसैगरी, सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियनसिप र सन् २०११ मा भारतमा भएको साफ च्याम्पियनसिपमा अफगानिस्तानले नेपाललाई पराजित गरेको थियो तर, यस पटक प्रतियोगितामा अफगानिस्तान समावेश छैन। सन् २०१३ को च्याम्पियन अफगानिस्तान सेन्ट्रल एशिया फुटबल फेडेरेशनको संस्थापक सदस्यको रुपमा उतैबाट फुटबल खेल्ने निर्णय गरी साफबाट बाहिरिसकेको छ।
आसन्न साफ च्याम्पियनसिप ढाकाको बंगबन्धु रंगशालामा हुँदैछ। यो त्यही मैदान हो जहाँ नेपालले दुई वर्षअघि बंगबन्धु गोल्डकप फुटबलको उपाधि उचालेको थियो, त्यो पनि बालगोपालकै प्रशिक्षणमा। त्यो नेपालले सन् १९९३ पछि जितेको सबैभन्दा ठूलो उपाधि थियो। त्यसले लामो समयदेखिको पदकविहीनता स्थितिलाई तोडेको थियो। त्यस्तै, सन् १९९३ मा बंगलादेशको ढाकामा भएको दक्षिण एशियाली खेलकूदमा नेपाल स्वर्णविहीन हुँदै घर फर्कनुपर्ने अवस्था आउन लागेको थियो। फुटबलको स्पर्धा मात्र बाँकी थियो। नेपालले बंगलादेशको राष्ट्रिय रंगशालामा भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै स्वर्ण जित्न सफल भयो। त्यतिबेला राष्ट्रिय टोलीका सदस्य रहेका बालगोपाल अहिले मुख्य प्रशिक्षकको भूमिकामा छन्।
भदौ १९ देखि ३० गतेसम्म जारी रहने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल भदौ १९ गते पाकिस्तानसँग, दोस्रो खेल २० गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग भदौ २२ गते खेल्नेछ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्द्विभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’ मा छन्। भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा परेका छन्।
नेपाली टोलीमा गोलकिपरमा किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने छन्। डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल छन्। मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन्।
कुमार चौलागाँई/रासस