भुटानमा नेपाल र कुवेतको खेल हेर्ने दर्शक, फोटो

थिम्पु, भुटान : विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेलमा नेपाल १-० ले पारजित भयो। दशरथ रंगशालमा खेल्नुपर्ने होम म्याच नेपालले भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा मंसिर ३ मा खेलेको हो। जसमा नेपालले अंक जोड्ने लक्ष्य बनाएपनि सफल भएन।

घरेलु मैदान नभएपनि भुटानका दर्शकहरु नेपालको खेल हेर्न भने आएका थिए। कुवेतको झण्ड हातमा भएपनि उनीहरु नेपालको समर्थन गरिरहेका थिए।

विश्वकप छनोट : कुवेतको झण्डा लिएर नेपालको समर्थन, अवसर सदुपयोग नहुँदा नेपाल पराजित

थिम्पु, भुटान : खेल जहाँ भएपनि कुवेतको लक्ष्य जित्ने नै थियो। जसरी हुन्छ ३ अंक जोड्ने। नेपालको लक्ष्य सकेसम्म अंक जोड्ने मात्र थियो। खेल जित्न नसकेपनि कुवेतलाई बराबरीमा रोक्दै १ अंक जोड्ने नेपालको योजना थियो। १ अंक मात्र जोड्न सकेपनि त्यो नेपालको लागि उपलब्धी हुनेथियो।

तर फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत आज भएको खेलमा नेपाल कुवेतसंग १-० ले पराजित भयो। नेपाल हार्नुको दुई स्पष्ट कारण छन्। एउटा कुवेतको गोल हुनु अर्को नेपालले गोल गर्ने अवसर चुकाउनु।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपालको लक्ष्य पूरा हुन सकेन। तर खेलमा भने केही सुधारियोको प्रदर्शन देखियो।

समूह बी अन्तर्गतको यस खेलमा खासमा नेपालकै दशरथ रंगशालमा हुनुपर्ने थियो। तर रंगशाल पूर्ण रुपमा तयार नभएकोले नेपालले आफ्नो होम म्याच नै सार्नुपर्‍यो र भुटानमा त्यो खेल सम्पन्न भयो।

नेपालको यो पहिलो होम म्याच थियो। र न्यूट्रल भेन्युमै खेल्नुपर्‍यो। घरेलु दर्शकको अगाडि घरेलु मैदानमा खेल्दै अंक जोड्ने सपना खेलाडीको रहेपनि कम्तीमा यो खेलको लागि सम्भव हुन सकेन।

भुटानमै पनि नेपालका केही खेलाडीले खेलिसकेको, नेपालको फुटबल थाहा पाएको दर्शक थिए। उनीहरुले नेपाललाई सपोर्ट पनि गरे। तर नेपालले खेल जित्न सकेन। भुटानी समर्थकको मन चाँही जित्यो होला सायद।

खेलअघि कुवेतले यहाँका दर्शकलाई उसैको देशको झण्डा बाँडेको थियो। सायद समर्थन गरिदिन आग्रह गर्दै। उनीहरुले स्टेडियममा कुवेतको झण्डा पनि ल्याए। तर समर्गन भने नेपालकै लागि थियो।

खेलमा नेपाल पछि परेपछि पनि उनीहरुले वि वान नेपाल गोल नारा लगाएका थिए। खेल सकिएपछि नेपाली खेलाडीले पनि उनीहरुको समर्थनलाई अप्रिसिएट गर्दै सम्मान व्यक्त गरेका थिए। चाङ्लिमिथाङमा उपस्थित ४ हजार भन्दा बढी दर्शकमध्ये धेरैको समर्थन नपाललाई नै थियो। तर नेपालले गोल गरेर उनीहरुलाई उपहार दिन भने सकेन।

सायद दशरथ रंगशालामै खेल्न पाएको भए नेपालले १२औं खेलाडीको रुपमा लिइने घरेलु दर्शकको साथ पाउने थियो र जित्ने थियो। यद्यपी भुटानमै आएर पनि नेपालको खेल भने सुधारियो।

भुटान आउनुअघि टिमका चार खेलाडी बर्खास्तीमा परेका थिए। २० खेलाडीसहित नेपाल भुटान आएको थियो। ४ खेलाडी बाहिरिँदा सुभास गुरुङ भाग्यमानी बने। घरेलु फुटबलमा संकटाबाट खेल्ने सुवासले भुटानमा खेल्दै राष्ट्रिय टिममा डेब्यु गरे। उनी ८९औं मिनेटमा तेज तामाङको स्थानमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।

नेपालका प्रशिक्षक किरण श्रेष्ठले पनि खेलपछि नेपाली टोलीले राम्रो खेलेको प्रतिक्रिया दिए। खेलाडीले राम्रो खेले। सबैले आफ्नो भूमिका निर्वाह गरे। तर हामीले पाएको अवसर सदुपयोग गर्न सकेनौँ।

श्रेष्ठले ४ खेलाडी नहुँदा र भुटानमा खेल्नुपर्दा पनि नेपाली टिमले मोटिभेट भएर खेलेको बताए। गोर्खाली छवी मैदानमा देखिएको उनको भनाई थियो।

होम म्याच भुटानमा आएर खेलेको नेपालले कुवेतलाई रोक्ने अंक खोस्ने जस्ता रणनीति बनाएको थियो। किनकी कुवेतलाई चिसो हावापानी भएको मौसममा खेल्न गाह्रो हुने नेपालले बुझेको थियो। कुवेत पनि यसमा सजग थियो। नेपाललाई कमजोर नआँक्ने भन्दै प्रिम्याच कन्फ्रेन्समा उसका प्रशिक्षक थामेर एनाडले भनेका थिए। तर लक्ष्य ३ अंक नै राखेका थिए। त्यसमा सफल भएको एनाडको भनाई थियो। हामी जुन चिजका लागि आएका थियौँ। जे आवश्यक थियो। त्यो पायौँ। ३ अंक लिन सफल भयौँ।

समूहको पहिलो खेलमै कुवेतसंग ७-० ले हारेकोले पनि नेपालको नतिजा यस पटक कस्तो हुने हो के हुने हो भन्ने सबैलाई चासोको विषय थियो। जित्न नसकेपनि धेरै गोल नखाओस् भन्ने समर्थकको चाहना थियो। त्यसैले पनि १-० को हारलाई धेरैले सुधारिएको प्रदर्शन मानेका हुन्।

……..

चाङ्लिमिथाङ स्टेडियममा कुवेतले गोल गरेपनि अवसर नेपालले धेरै पाएको थियो। सदुपयोग हुन सकेन। खेलको २२औं मिनेटमा अभिषेक रिजाल गोल गर्नबाट चुके। उनले सुजल श्रेष्ठको पामा क्लोज रेन्जबाट गरेको प्रहार पोष्टमाथीबाट बाहिरियो। उक्त प्रहार गोल भएको भए सायद खेलको माहोल अर्कै हुने थियो। तर कुवेती कप्तान बादर अल मोतावाले मौका गुमाएनन्। २८औं मिनेटमा डिएरिया बाहिरबाट गोल गर्दै अग्रता दिलाए। नेपाललाई बराबरी गोल फर्काउन अवसर पनि थियो। तर सकेन। ४०औं मिनेटमा रोहित चन्दले विक्रम लामाको पासमा गरेको प्रहार कुवेती गोलकिपरले बचाए।

त्यसपछि पनि नेपालले राम्रो खेल प्रदर्शन गरेपनि गोल गर्न भने सकेन।

छनोटमा यो नेपालको चौथो हार हो। यसअघि नेपाल कुवेत, अष्ट्रेलिया र जोर्डनसंग पराजित भइसकेको छ।

कुवेतसंग ७-० ले पारजित भएको नेपालले दोस्रो खेलमा भने कमब्याक गर्दै चाइनिज ताईपेईलाई २-० ले हराएको थियो। त्यसपछि अष्ट्रेलियासंग ५-० र जोर्डनसंग ३-० ले पराजित भयो।

नेपाल ५ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ। समान खेलबाट १० अंक जोड्दै कुवेत दोस्रो स्थानमा छ।

नेपालले अब बाँकी तीन होम म्याच दशरथ रंगशालामै खेल्नेछ। जसमा अष्ट्रेलिया, जोर्डन र ताइपेईलाई नेपालले दशरथ रंगशालमा आथित्य गर्नेछ।

नेपाल भर्सेस कुवेत : भुटानमा नेपालको ‘होम म्याच’, हराउला त कुवेतलाई?

थिम्पु/भुटान : नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनिने दशरथ रंगशाला पूर्ण रुपमा फुटबल खेलाउन लायक भएको भए अहिले म काठमाडौंमै बसेर यो ब्लग लेखिरहेको हुन्थे, सायद।

तर २०७२ सालको विशानकारी भूकम्पपछि चार वर्षसम्म पूर्निर्माणमै सिमित भएको रैगशालाको काम अझै पनि सकिएको छैन। मंसिर तेस्रो साता त्यही दशरथ रंगशालमा १३औं दक्षिण एसियाली खेलकद (साग) उद्घाटन र समापन गर्ने कार्यक्रम छ। साथै साग अन्तर्गत फुटबल खेल पनि त्यही हुने तय छ। तर मंसिर ३ को लागि दशरथ रंगशालमा कुवेत विरुद्ध तय भएको विश्वकप छनोट अन्तर्गतको होम म्याच भने त्यहाँ हुन असम्भव भयो। र अहिले नेपालले आफ्नै होम ग्राउण्डमा खेल्ने म्याच भुटानको थिम्पुमा खेल्दैछ।

दशरथ रंगशालमा पूनर्निर्माणको काम नसिकएकोले र खेलाउन लायक नभएको भन्दै एएफसीले काठमाडौंमा खेल नहुने फैसला गर्‍यो। त्यसपछि एन्फाले भुटानमा खेलाउने प्रस्ताव गर्‍यो। यसमा कुवेतले आनाकानी समेत गर्‍यो। धेरै लबिङ गर्‍यो। तर एन्फाले पनि विभिन्न प्रयास मार्फत कुवेत विरुद्धको खेल जसरी पनि भुटानमै खेलाउने निर्णय गरेरै छाड्यो।

भुटान आउने टोलीलाई बिदाई गर्ने बेला एन्फा महासचिव इन्द्रमान तुलाधरले भनेका थिए। ‘हाम्रो लागि यो नौलो अनुभव हो आफ्नो होम म्याच भुटानमा खेल्नुपरेको छ।’ यसले पनि प्रष्ट पार्छ नेपाली खेलाडी र फुटबल समर्थकलाई यसले पक्कै न्याय गरेको छैन।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीद्दमा एएफसी एसियन कपको संयुक्त छनोटको रुपमा रहेको एसियाको दोस्रो चरणको छनोटको समूह बी मा नेपालले चार वटा अवे म्याच खेलिसकेको छ। अब चार होम म्याच काठमाडौंमै खेलाउन प्रयास भइरहेको थियो। तर पहिलो होम म्याच नहुने भयो।

जुन खेल नेपालले मंसिर ३ मा भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा खेल्दैछ। खेल दिउँसो ३ बजे (नेपाली समय पौने २ बजे) शुरु हुनेछ।

मंसिर २ मा भएको प्रिम्याच कन्फ्रेन्समा नेपालका प्रशिक्षक र कप्तानले कुवेत विरुद्धको खेल महत्वपूर्ण भएको र अक जोड्नकै लागि खेल्ने बताए। कति अंक जोड्ने भने भनेनन्।

दशरथ रंगशालामै खेल्न पाएको भए नेपाललाई १२औं खेलाडीको रुपमा दर्शकको साथ हुने थियो। तर भुटानमा त्यस्तै दर्शक नहुन सक्छ। तैपनि प्रशिक्षक र कप्तान भने कुवेत विरुद्ध कन्फिडेन्ट भएर खेल्ने बताउँछन्। ‘हाम्रो लागि यो खेल महत्वपूर्ण छ। हामी कडा टक्कर दिनेछौँ।’ कलिनले भनेका छन्। कप्तान किरण चेम्जोङले पनि कुवेतलाई ‘टफ फाइट’ दिने बताए।

उता कुवेतका प्रशिक्षक थोमर एनाडले भने नेपाललाई हल्का रुपमा नलिने तर ३ अंककै लागि खेल्ने स्पष्ट रुपमा भनेका छन्।

समूह बी अन्तर्गत नेपालले पहिलो खेल कुवेतसंगै खेलेको थियो। र कुवेतमा भएको उक्त खेल नेपालले ७-० ले गुमाएको थियो। त्यसैले पनि नेपाल कुवेत विरुद्ध बदला लिन चाहन्छ। र त्यो हारलाई बिर्साउन चाहन्छ।

त्यो केही पुरानो भएपनि नेपाललाई यस पटक अर्को नयाँ समस्याले नि सतायो। कुवेत आउनु अघिल्लो रात टोलीमा रहेका ४ खेलाडी क्लबमा गएर नियम तोडेपछि एन्फाले चार खेलाडीलाई बर्खास्त गर्दै टिमलाई भुटान पठाएको हो। विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ भुटान आउने अघिल्लो दिन होटलबाट बाहिर निसक्का थिए।  भोलीपल्टको ३० कात्तिकमा बिदाई कार्यक्रममा आउँदा उनीहरुबाट मादक पदार्थको दुर्गन्ध आएको भेटिएको थियो। त्यसपछि एन्फा पदाधिकारी, व्यवस्थापन र प्रशिक्षकको छलफलपछि चार खेलाडीलाई काठमाडौंमा छाड्दै नेपाली टोली भुटान आएको हो। त्यसपछि सुभास गुरुङलाई टिममा राख्दै २० सदस्यीय टोली भुटान आएको हो।

प्रशिक्षक कलिनले यहाँ उपलब्ध भएका खेलाडीहरुमा केन्द्रित रहेर नै भोलीको खेल खेल्ने बताए।

मैदान परिवर्तन हुनु, भुटान आउनुअघि चार खेलाडीले अनुशासन तोड्नु अनी थिम्पुमा नेपाली दर्शक बिना नै खेल्नु नेपाली टोलीका लागि पक्कै सजिलो भने हुने छैन। तर भुटानमा केही खेलाडीले खेलिसकेको, नेपालको जस्तै एस्टो टर्फमा खेलिसकेको र कुवेतलाई भुटानको मौसममा घुलमिल हुन समय लागेकोले नेपालले केही एड्भान्डेज पक्कै पाएको छ। अब यसलाई सदुपयोग गर्दै नेपालले चाङ्लिमिथाङमा कुवेत विरुद्ध खेल्नु पर्छ।

विश्वकपको लागि मात्र नभएर एसियन कपको छनोट भएकोले पनि दुवै टोली समूहमा अगाडि रहन चाहन्छन्। अहिलेसम्म खेलेको चारवटै खेल जित्दै अष्ट्रेलिया यस समूहमा शीर्ष स्थानमा छ। कुवेत  र जोर्डनको समान ७ अंक छ र कुवेत गोलअन्तरमा अगाडि छ। नेपालको ३ अंक छ। चारवटै खेल हारेको चाइनिज ताइपेई अंकविहिन हुँदै पूछारमा छ।

कुवेतका प्रशिक्षक एनाडले नेपाल विरुद्ध ३ अंक जोड्दै दोस्रो स्थानमा पकड राख्ने बताइसकेका छन्।

अहिले एसियाका ४० राष्ट्रले यो छनोट खेलिरहेका छन्। उनीहरुलाई ८ समूहमा विभाजन गरिएको छ। ८ समूहको विजेता र उत्कृष्ट ४ उपविजेता गरी टोली विश्वकपको तेस्रो चरणको छनोटमा प्रवेश गर्नेछन्। छनोटमा अनतिम चारमा रहने ४ टोली बाहिरिनेछ। बाँकी २४ टिमले एसियन कपको लागि पुन: छनोट खेल्न पाउनेछ।

नेपाल VS कुवेत : विश्वकप/एसियाकप छनोट

स्थान : चाङ्लिमिथाङ स्टेडियम, थिम्पु भुटान

समय : दिउँसो ३ बजे (नेपाली समय २: ४५ बजे)

मिति : १९ नोभेम्बर २०१९ (३ मंसिर २०७६)

वरीयता

कुवेत : १५६

नेपाल :  १६७

अंक तालिका : समूह बी

अष्ट्रलिया    : १२

कुवेत         : ७

जोर्डन        : ७

नेपाल         : ३

चाइनिज ताईपेई : ०

हेड टु हेड

१९८२ कुवेत ३-१ नेपाल

१९८६ कुवेत ५-० नेपाल

१९९४ कुवेत ८-० नेपाल

२००० कुवेत ५-० नेपाल

२०१९ कुवेत ०-० नेपाल

२०१९ कुवेत १-० नेपाल

२०१९ कुवेत ७-० नेपाल

नेपालले गरेको गोल : १, खाएको गोल : २९

१३औं सागको काउन्ट डाउन सुरु , ५० स्वर्ण जित्ने लक्ष्य

काठमाडौं, मंसिर १

नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु गरिएको छ। कात्आतिक ३० मा सागको प्रचार प्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) एवं १३ औं साग आयोजक समितिका सदस्य–सचिव रमेशकुमार सिलवालले यस बारे जानकारी गराए। सोही अवसरमा सागको प्रोमो र आधिकारिक वेवसाइट पनि सार्वजनिक गरिएको छ ।

सागको बारेमा सम्पूर्ण जानकारी http://www.13sagnepal.com मा गएर हेर्न सकिनेछ।


राखेप सदस्य–सचिव सिलवालले १३ औं सागमा ५० स्वर्ण जित्ने लक्ष्य रहेको बताए । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जित्दै दोश्रो स्थान हात पारेको थियो।

सोही अवसरमा सदस्य–सचिव सिलवालले साग खेल सारा नेपालीहरुको गौरवको विषय रहेको बताउदै यसलाई सफल पार्न सबै पक्षसंग आव्हान गरे। उनले भने– ‘साग गेम्स एउटा प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने माध्यम हो। नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिनु पनि हो । त्यसैले सबै पक्ष मिलेर सागलाई सफल पारौं।’


दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने तिथि रहेकाले त्यसपछि मात्र खेलाडीहरुको पूर्ण जानकारी प्राप्त हुने बताए । उनले उत्साहजनक रुपमा सबै राष्ट्रले सहभागिता जनाएको पनि बताए । उनले प्याराग्लाइडिङ खेल सागमा सहभागी हुने सम्भावना अझै रहेको पनि बताए ।
सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरि सागमा कुल २९ खेल समावेश गरिएको छ ।

२० बर्ष अगाडी जम्मा १२ खेल समावेश गरि आठौं दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । अहिले दोब्बर भन्दा बढी खेल समावेश भएकोले ब्यवस्थापन पनि सोही अनुरुप दोब्बर भएको छ।
सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार बिदेशी पाहुनालाई हामी स्वागत गर्दैछौ । काठमाडौं सहित पोखरा र जनकपुरमा खेलको आयोजना हुनेछ । काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुनेछ । (फुटबल, भलिबल र क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुनेछ ।) प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको आयोजनासंगै प्रर्दशन र नतिजाको हिसाबले समेत नेपालले राम्रो तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाईएको छ भने नेपालमै रहेका अधिकांश खेलमा विदेशी प्रशिक्षक ल्याएर तयारी गरिएको छ ।
विगतको दाँजोमा सागमा सहभागी खेलाडीलाई झण्डै दोब्बर भत्ताको ब्यवस्था गरिएको छ ।

नेपाल सरकारबाट १३औं साग आयोजनाको निम्ति करिब साढे ४ अर्व रुपैयाको बजेट निकासा भएको छ । जसमा पुर्वाधार निर्माणको निम्ति १ अर्व ६२ करोड तथा प्रतियोगिता आयोजनाको निम्ति ३ अर्व ६५ करोड बजेट रहेको छ । आवश्यक थप बजेटको निम्ति सरकारले प्रतिबद्वता व्यक्त गरेको पनि बताइएको छ ।

पत्रकार सम्मेलनपछि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा सागको प्रोमोको पनि उद्घाटन गरिएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य–सचिव रमेशकुमार सिलवालले रिबिन काटेपछि डिस्प्लेमा प्रोमो प्रशारण भएको थियो ।

महिला भलिबलमा ऐतिहासिक स्वर्ण, प्रशिक्षक जगदिश भट्टको संयोग

काठमाडौं : नेपालमा महिला भलिबलको जति चर्चा छ, घरेलु महिला भलिबलमा जति धेरै खेल हुन्छ अन्तर्राष्ट्रिय स्तरमा भने त्यसको नजिक समेत छैन।

भलिबल नेपालको राष्ट्रिय खेल हो। तैपनि नेपालले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन। तर बंगलादेशमा पहिलो पटक आयोजना भएको महिला सेन्ट्रल जोन भलिबलको उपाधि जित्दै नेपाली महिला भलिबल टोलीले इतिहास रच्यो।

नेपाली भलिबलको करिब चार दशक लामो इतिहासिम नेपालको महिला/पुरुष कुनै पनि टिमले अन्तर्राष्ट्रिय उपाधि जितेको यो पहिलो पटक हो।

दक्षिण एसियामा केही हदसम्म नेपाली महिला भलिबल परिचित छ। नेपालले भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशसंग यसअघि खेलिसकेको छ।

तर दक्षिण एशिया बाहिरका टीमसँग भने नेपालको महिला टीमले बिरलै खेल्न पाउँछ। मंसिर तेस्रो सातदेखि नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग)को तयारीमा रहेको नेपालको महिला भलिबल टीमले पछिल्लो एक महीनाको बीचमा ठूलो सफलता हात पार्‍यो।

वैदेशिक प्रशिक्षणदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता अनि पहिलो अन्तर्राष्ट्रिय उपाधि। नेपाली भलिबलका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि बन्यो।

बंगलादेशमा २८ कात्तिकमा सम्पन्न प्रथम एभिसी एशियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपालले अपराजित रहँदै उपाधि जित्यो।

नेपालले खेलेको पाँचवटै खेल जित्यो फाइनलसहित। कुनै पनि सेट गुमाएन। यस क्रममा दक्षिण एसियाली राष्ट्र माल्दिभ्सलाई दुई र बंगलादेशलाई एक पटक हरायो।

यस्तै दक्षिण एसिया बाहिरका अफगानिस्तान र कीर्गिस्तानलाई हरायो। पहिलो पटक खेलेपनि नेपालले दुवै टिमलाई ३-० कै सेटमा पराजित गर्‍यो।

पुरुष भलिबलमा बलियो रहेको र गत भदौमा नेपालमै भएको सेन्ट्रल जोन जितिसकेको राष्ट्र कीर्गिस्तानले महिला भलिबलमा नेपाललाई केही चुनौती दिएको थियो। तर, नेपालले उक्त चुनौतीलाई पूरा गर्‍यो।

महिला भलिबलमा नेपालले पहिलो पटक उपाधि जित्यो।

यसअघि सन् २०१४ मा नेपालमै भएको पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिपमा नेपालले उपविजेता बन्दै रजत जितेको थियो। त्यसबेला नेपालले घरेलु कोर्टमा भएको पाँच राष्ट्र सम्मिलित उक्त च्याम्पियनसिपमा श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो।

यस पटक भारत र श्रीलंका नभएकोले पनि नेपाललाई सेन्ट्रल जोनमा सहज भयो। प्रशिक्षक जगदिश भट्ट र कप्तान अरुणा शाहीले पनि यसलाई स्वीकार गरे।

प्रशिक्षक भट्टले यसलाई शुरुवात मात्र मानेका छन् र अझै धेरै गन बाँकी रहेको बताएका छन्। उनले घरेलु कोर्टमा हुने १३औं सागमा महिला टोलीको लक्ष्य स्वर्ण रहेको बताइसकेका छन्। प्रशिक्षकको भनाईलाई कप्तान अरुणाले पनि समर्थन गरेकी छिन्।

नेपाली टीममा यसपटक आधा (६) खेलाडी नयाँ थिए।

१३औं साग हुनुअघि ती खेलाडीका लागि पनि अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर थियो। र, प्रशिक्षक जगदिश भट्टले नयाँ ६ जना नै खेलाडीलाई सेन्ट्रल जोनमा खेलाएर परीक्षण गरिसकेका छन्।

टीममा रहेका सबै खेलाडी उस्तै रहेको र आवश्यक परेका बेला सबै खेल्न तयारी अवस्थामा रहने गरी भट्टले टीम तयार पारेको बताएका छन्।

बंगलादेशमा सेन्ट्रल जोन खेल्न जानुअघि नेपालले थाइल्याण्डमा तीन साता वैदेशिक प्रशिक्षण गरेको थियो, जसमा विभिन्न टीमसँग ७ मैत्रीपूर्ण खेलसमेत खेलेको थियो।

नेपाल भलिबल संघले पनि महिला भलिबलले प्रगति गरिरहेको र यसपटक सागमा स्वर्णको दाबी गरिसकेको छ।

पुरुष भलिबलले सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्य पटक जित्दै पहिलो अन्तर्राष्ट्रिय पदक जितेको थियो।

तर, महिला भलिबलले सेन्ट्रल जोनको पहिलो सहभागितामै स्वर्ण जित्यो। महिला भलिबलमा नेपालले यसअघि तीन पटक सागमा कास्य जितेको छ।

राष्ट्रिय खेलकुद परिषदले स्वर्ण जित्ने टिमका १२ खेलाडी र ३ प्रशिक्षकलाई नगद ३-३ लाखले सम्मान गर्ने जनाइसकेको छ। यस्तै नेपाल भलिबल संघले प्रत्येकलाई २५-२५ हजार र संघका अध्यक्ष मनोरन्जन रमण शर्माले १०-१० हजार दिने घोषणा भइसकेको छ।

प्रतिभालाई २ अवार्ड

नेपाललाई पहिलो सेन्ट्रल जोनको च्याम्पियन बनाउन भूमिका खेलेकी प्रतिभा मालीले दुई अवार्ड जितिन्। उनले च्याम्पियनसिपको ‘मोस्ट भ्यालुएबल प्लेअर’ र ‘बेस्ट स्पाइकर’को अवार्ड पाइन्।

नेपालको लागि सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभाको स्पाइक विपक्षी खेलाडीको लागि टाउको दुखाई बनेको थियो।

यस्तै पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेकी सलिना श्रेष्ठले डेब्यु प्रतियोगितामै ‘बेस्ट लिब्रो’ को अवार्ड पाइन्।

यसै गरी बेस्ट ब्लकर बंगलादेशकी बिथे र बेस्ट सेटर माडिना मिर्लान घोषित भइन्।

प्रशिक्षक जगदिशको संयोग

नेपालको पुरुष र महिला टीमले सेन्ट्रल जोनमा कुनै न कुनै पदक जितेको छ। संयोगवश दुवै पटक प्रशिक्षकमा भने जगदिश भट्ट थिए।

पहिलो महिला सेन्ट्रल जोन खेल्न बंगलादेश जानुअघि यसबारे जिज्ञासा राख्दा उनले भाग्य र मिहिनेतको साथ भनेका थिए।

महिला टीमले ऐतिहासिक उपाधि जितेपछि अहिले प्रमाणित भएको छ। पुरुष र महिला टोलीको प्रशिक्षकको रूपमा पदक जिताउने उनी एक्ला प्रशिक्षक बनेका छन्।

यसअघि माल्दिभ्समा भएको तेस्रो सेन्ट्रल जोनमा नेपालको पुरुष टोलीले कास्य जित्दा भट्ट मुख्य प्रशिक्षक थिए। यस पटक महिला टीमको पनि मुख्य प्रशिक्षकका रूपमा उनी थिए।

‘यो शुरुवात हो अब हामीले गर्नुपर्ने धेरै छ, हाम्रो लक्षय एशियन च्याम्पियनसिपमा जाने हो’ भट्टले भने।

कप्तानी डेब्युमै उपाधि

अरुणा शाही नेपाली महिला भलिबलमा अलराउण्डर खेलाडी हुन्। क्रिकेटमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट खेलाडीलाई बेस्ट अलराउण्डर भनिन्छ।

भलिबलमा पनि विभिन्न पोजिसन हुन्छ, जसमा अरुणा विस्तारै जम्दै छिन्।

यसअघि अपोजिट स्पाइकरको रूपमा खेल्दै आएकी अरुणाले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सेटरको भूमिका निभाइन्।

साथै उनी सर्भरको रूपमा पनि राम्रो मनिन्छिन्।

यसभन्दा फरक अर्को भूमिका पनि उनले यसपटक निर्वाह गरिन्, टीमको नेतृत्व गर्दै।

अरुणाले पहिलो पटक महिला भलिबल टीमको कप्तानी गर्दा उपाधि दिलाउन सफल भइन्। कप्तान र सेटर दुई भूमिकामा पहिलो पटक प्रस्तुत भएकी अरुणाले दुवै भूमिकामा आफूलाई अब्बल प्रमाणित गरिन्।

नेपाल महिला भलिबल टिमले खेलेको प्रतियोगिता र उपलब्धी

१९९९ : आठौं दक्षिण एसियाली खेदकुद (कास्य)

२००६ : १०औं दक्षिण एसियाली खेलकुद (कास्य)

२०१४ : फस्ट साउथ एसियन वुमन्स भलिबल च्याम्पियनसिप (रजत)

२०१६ : १२औं दक्षिण एसियाली खेलकुद (कास्य)

२०१७ : फिभ वर्ल्ड भलिबल च्याम्पियनसिप क्वालिफायर सेन्ट्रल जोन (पहिलो चरण)

२०१९ : फस्ट एभिसी एभसिय सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिप (स्वर्ण)

पारसको राजीनामा स्वीकृत, ज्ञानेन्द्र क्रिकेटका नयाँ कप्तान

काठमाडौं : कप्तानबाट पारस खड्काले दिएको राजीनामा नेपाल क्रिकेट संघ क्यानले स्वीकृत गर्दै ज्ञानेन्द्र मल्लाई नयाँ कप्तान चयन गरेको छ।

क्यानले आज आधिकारिक रुपमा ज्ञानेन्द्रलाई कप्तान चयन गरेको हो। अब अर्को निर्णय नआएसम्म ज्ञानेन्द्रले नेपालको नेतृत्व गर्नेछन्।

अर्को साता देखि शुरु हुने एमसीसी टुरलाई मध्यनजर गर्दै क्यानले ज्ञानेन्द्रलाई कप्तान बनाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। ज्ञानेन्द्र नेपालको सिनियर टिमको आठौं कप्तान हुन्।

कसरी बने ज्ञानेन्द्र कप्तान?

पारस खड्काले एक दशक नेपालको कप्तानी सम्हाले। सन् २००९ मा विनोद दास रिप्लेस गरेयता पारसले निरन्तर नेपालको कप्तानी गरे। उनी नेपालको सबैभन्दा धेरै समय कप्तानी गर्ने सफल कप्तान हुन्।

उनै पारसले असोज २८ मा कप्तानबाट राजीनामा घोषणा गरे विज्ञप्ती र सामाजिक सञ्जालमार्फत।

यसले ठूलै तरंग समेत ल्यायो। नल्यायोस् पनि किन। क्यानको निलम्बन आइसीसीले फुकूवा गरेको भोलीपल्टै पारसले कप्तानबाट हट्ने निर्णय गर्दै धेरैलाई आश्चर्य लाग्नु स्वभाविक नै थियो।

शुरुमा क्यानले आफूकहाँ राजीनामा नबएको र सामाजिक सञ्चाल अनी मिडियाबाट थाहा भएको भन्दै पारसलाई नै कप्तानमा फर्काउने बताएको थियो। तर पारसले पनि आप्नो निर्णय फेरेनन्।

अनी क्यानले आधिकारीक राजीनामा माग्यो र पारसले पनि तीन दिन अघि क्यानमा राजीनामा बुझाए। त्यसप५ क्यानले बुझ्यो होला पारस अब कप्तान बन्ने छैनन्। त्यसैले क्यानले पारसको राजीनामा स्वीकार गर्दै ज्ञानेन्द्रला२ नै नयाँ कप्तान तोकेको हो।

पारस कप्तान हुँदा ज्ञानेन्द्र एक दशक उपकप्तान थिए। यस्तै पारस अनुपस्थित हुँदा ज्ञानेन्द्रले यसअघि नेपालको कप्तानी समेत गरिसकेका छन्। त्यसैले पनि ज्ञानेन्द्र कप्तानको लागि स्वभाविक रुपमा दाबेदार थिए। उनीसँगै सिनियर खेलाडी शरद भेषावर, युवा खेलाडी दीपेन्द्र भरीलाई पनि कप्तानको रुपमा हेरिउको थियो। तर क्यानले पनि कुने जोखिम लिन चाहेन र ज्ञानेन्द्रला२ नै कप्तान बनायो।

ज्ञानेन्द्र ले पनि यसलाई स्वभाविक रुपमा लिएका छन्। उनले सबैको साथ र सहयोगले नै टिमले सफलता हात पार्ने बताएका छन्।

सन् २०१४ मा विश्वकप छनोटमामा पारस अस्वस्थ हुँदा ज्ञानेन्द्रले पहिलो पटक नेपालको कप्तानी गरेका थिए। त्यसयता उनले इमर्जिङ कप, वर्ल्ड क्रिकेट लिग च्याम्पियनसि अनी केही आयसीसी टी २० एसिया क्वालिफायरमा पिन कप्तानी गरिसकेका छन्।

नेपालको सिनियर टिको प्रशिक्षक रहिसकेका र ज्ञानेन्द्रसँग नजिक रहेर काम गरेका जगत टमाटाले नै हसी व्यक्ति नै कप्तान भएको प्रतिक्रिया दिएका छन्। यस्तै स्वयं पारसले पनि सही व्यक्ति कप्तान भएको भन्दै मल्लको नेतृत्वमा नेपालले नयाँ उचाई पाउने बताए। पारसले राजीनामा कै दिन अबको एक वर्ष ज्ञानेन्द्रला२ कप्तान बनाउनुपर्ने सुझाव दिएका थिए।

एक ओभरमा ६ छक्का, नेपालको पहिलो ओडिआई अर्धशतक

मिस्टर रिलायबल र क्लासिक ब्याट्सम्यानको परिचय समेत बनाइसकेका ज्ञानेन्द्रले केही आक्रमक ब्याटिङ समेत गरेका छन्। उनले एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका छन्।

यस्तै नेपालको लागि ओडिआईमा पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान ज्ञानेन्द्रको नाममा छ जुन अब कहिल्यै तोडिने छैन। यस्तै टी२० आईमा उनले नेपालको लागि २० बलमा अर्धशतक प्रहार गर्द सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान राखेका छन्।

ज्ञानेन्द्र नेपालका लागि सर्वाधिक रन बनाउनेमा ओडिआईतर्फ पारस खड्का र सोमपाल कामी पछि तेस्रो नम्बरमा छन् भने टी २० आईमा पारसपछि दोस्रो स्थानमा छन्।

यस्तै उनले नेपालका लागि एक शतक समेत प्रहार गरेका छन्।

घरेलु क्रिकेटमा समेत फ्रेन्चाइज लिगहरुमा कप्तानी गरिसकेका ज्ञानेन्द्रले गत वर्ष आप्नै कप्तानीमा ललितपुर प्याट्रिओट्सलाई एभेष्ट प्रिमियर लिग इपिएलको उपाधि जिताएका थिए। ज्ञानेन्द्रले उमेर समूहमा नेपालको कप्तानी समेत गरिसकेका छन्।

गल्लीदेखि क्रिकेट खेल्न शुरु गरेका ज्ञानेन्द्रले फाटेको जुत्ता लगाएर पनि क्रिकेट खेले। ज्ञानेन्द्रकै संलग्नताका काठमाडौंका काठमाडा क्रिकेट ट्रेनिङ सेन्टर केटीसीटी समेत सञ्चालनमा छन्। जहाँबाट नयाँ प्रतिभाहरुले आफ्नो खेल कला देखाउने मौका पाइहेका छन्। यस्तै गत वर्ष बाट शुरु भएको पोदरा प्रिमियर लिग र यस वर्षबाट शुरु भ्उको वुमन च्याम्पियन्स लिग डब्लुसिएल टि २० क्रिकेटको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टमा पनि ज्ञानेन्द्र संलग्न छन्।

अहिलेसम्म नेपालको कप्तान

उत्तम कर्माचार्य

लेख बहादुर क्षेत्री

पवन अग्रवाल

राजु खड्का

परेस लोहनी

विनोद दास

पारस खड्का

ज्ञानेन्द्र मल्ल

एउटै च्याम्पियनसिपमा दुई पदक, नेपाली बडिबिल्डर रजनीले बनाइन् नयाँ कीर्तिमान

काठमाडौं/ १३ असोज

एउटा खेलाडीले एउटै च्याम्पियनसिपमा दुई पदक जित्नु चानचुने कुरा होइन। त्यो पनि बडिबिल्डिङमा अनी दुई फरक विधामा।

र यस्तो उपलब्धी हात पार्ने खेलाडी विदेशको नभएर नेपालकै हुन्। नेपाली महिला बडिबिल्डर रजनी श्रेष्ठले थाइल्याण्डमा भइरहेको ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियन २०१९ मा रजतहसित दुई पदक जितिन्।

बडिबिल्डिङतर्फ महिला ५५ केजी तौल समूहमा दोस्रो हुँदै रजनीले ऐतिहासिक रजत पदक जितिन्। साथै उनले वुमन बडिबिल्डिङको ३० वर्ष माथिको क्याटेगोरीमा तेस्रो हुँदै कास्य जितिन्।

रजनीको टिम म्यानेजरको रुपमा सँगै इन्डोनेसिया गएका नेपाल बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनका उपाध्यक्ष दिनेश राजभण्डारीले नेपाली बडिबिल्डिङमा यो ठूलो उपलब्धी भएको इन्डोनेसियाबाटै जानकारी गराए।

एउटै च्याम्पियनसिपमा दुई फरक विभामा पदक जितेर रजनीले नयाँ कीर्तिमान समेत राखेकी छिन्।

रजनीले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेको यो दोस्रो पटक हो। यसअघि गत साउनमा नेपालमै आयोजना भएको १२औं साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले महिला एथ्लेटिक्स फिजिकमा कास्य पदक जितेकी थिइन्।

देश बाहिर पहिलो पटक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागि जनाउँदै ऐतिहासिक सफलता प्राप्त गरेकी ३६ वर्षकी श्रेष्ठ एक छोराकी आमा समेत हुन्। उनीले ५५ केजी तौल समूहमा भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पार्दै रजत पदक हात पारेकी थिइन्। उक्त समूहमा भियतनामकी तोन होयाड्ड खान लानले प्रथम स्थान हासिल गर्दै स्वर्ण जितिन्।

त्यस्तै ३० वर्ष भन्दा माथिको समूहमा समेत उनै भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पार्दै कास्य पदक हात पारेकी थिइन्। उक्त समूहमा भियतनामकी नुगुयेन बिच ट्रामले पहिलो र तोन होयाड्ड खान लानले दोस्रो स्थान हात पारिन्।

२८ राष्ट्र सम्मिलित यस च्याम्पियनसिपमा करीब ३५८ खेलाडी तथा करीब १६० अफिसियलहरुको सहभागिता रहेको थियो।

एसियन लेभलमा नेपालको लागि ठूलो पदक दिलाउन रजनी पहिलो महिला खेलाडी बनेकी छिन्। वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा भने यसअघि नै नेपालकी ननिता महर्जनले रजत र कास्य जितिसकेकी छन्।

ननिताले सन् २०१६ मा थाइल्याण्डको पतायामा भएको आठौं वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् भने सन् २०१७ मा मंगोलियाको उलनबटारमा भएको नवौं वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्।

केही समयअघि थायल्याण्डमा भएको वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्दै ठूलो चर्चा पाएका थिए। महेश्वरले पुरुष बडिबिल्डिङको ७५ केजी तौल समूहमा नेपालको लागि स्वर्ण जितेका थिए।

नेपालमा बडिबिल्डिङ चर्चित खेल नभएपनि शरिर सुगठित पार्नका लागि यस खेलतर्फ आकर्षित हुनेहरु धेरै छन्। विशेषगरी युवा जमात यसमा लागेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा भने नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै कुनै न कुनै हात पारिरहेका छन्।

गत साउनमै भएको साउथ एसियन च्याम्पियनसिपमा नेपालका मल्लिका शाक्यले स्वर्ण जितेकी थिइन्। यस्तै पुरुष बडिबिल्डिङमा समिर श्रेष्ठले पनि स्वर्ण जितेका थिए।

मेसीलाई ‘फिफा बेस्ट अवार्ड’, छैटौँ पटक ‘फिफा प्लेअर अफ दि इअर’

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) प्रदान गर्दे दि फिफा बेस्ट फुटबल अवार्ड अर्जेन्टाइल स्टार लिओनल मेसीले जितेका छन्।

बार्सिलोनाबाट व्यावसयीक फुटबल खेल्ने ३२ वर्षीय मेसीले युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र लिभरपुलबाट खेल्ने डच डिफेण्डर भर्जिल भान डाइकलाई पछि पारे।

फिफाले फ्रान्स फुटबल म्यागाजिनसँगको सहकार्हलाई तोड्दै सन् २०१८ बाट फिफा बेस्ट अवार्ड प्रदान गर्न थालेको हो। बेस्ट अवार्ड पहिलो पटक जितेका मेसीले समग्रमा फिफा वर्ष खेलाडी अवार्ड जितेको यो छैटौँ पटक हो। यसअघि उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा फिफा प्लेअर अफ दि इअर/फिफा बालोन डे’ओर अवार्ड जितेका थिए। फिफा बेस्ट अवार्ड भने रोनाल्डोले २ र लुका मोडरिचले१ पटक जितेका छन्।

फिफा वर्ष खेलाडी अवार्ड मेसीले सर्वाधिक ६ पटक जित्दा रोनाल्डोले ५ पटक जितेका छन्।

फिफाले सन् १९९१ देखि २००९ सम्म फिफा वर्ष खेलाडी अवार्ड प्रदान गर्दै आएको थियो। २०१० देखि २०१५ सम्म ६ पटक भने फ्रान्स फुटबल म्यागाजिनसँग सहकार्य गर्दै फिफा बालोन डे’ओर संयुक्त रुपमा प्रदान गरिएको थियो।

फिफा बालोन डे’ओर को नाममा वितरण भएको अवार्ड मेसीले सर्वाधिक ४ पटक जित्दा रोनाल्डोले २ पटक जितेका थिए।

२००९ अघि फिफा अवार्ड हुँदा रोनाल्डो र मेसीले १-१ पटक जितेका थिए।

समग्रमा मेसीले फिफा बालोन डे’ओर ४, फिफा वर्ष खेलाडी १ र फिफा बेस्ट अवार्ड १ पटक जितेका छन्। रोनाल्डोले फिफा बालोन डे’ओर २, फिफा बेस्ट अवार्ड २ र फिफा वर्ष खेलाडी १ पटक जितेका हुन्।

यस्तै फिफा बेस्ट वुमन्स प्लेअर अफ दि इअर अवार्ड अमेरिकी खेलाडी मेगन रापिनोले जितिन्। उनेल आफ्नै देकी एलेक्स मोर्गन र इंग्ल्याण्डकी लुसी ब्रोन्सलाई पछि पारिन्। मेगनको कप्तानीमा अमेरिकाले चौथो पटक महिला विश्वकपको उपाधि जितेको थियो।

कसले कुन अवार्ड पाए?

पुरुष खेलाडी: लिओनल मेसी (बार्सिलोना र अर्जेन्टिना)

महिला खेलाडी: मेगन रापिनो (रेन एफसी र अमेरिका)

पुरुष प्रशिक्षक: योर्गन क्लोप (लिभरपुल)

महिला प्रशिक्षक: जिल एलिस (अमेरिका)

पुरुष गोलकिपर: एलिसन (लिभरपुल र ब्रजिल)

महिला गोलकिपर: सारी भान (भेनेन्डल एट्लेटिको मड्रिड र नेदरल्याण्ड्स)

पुस्कास अवार्ड: ड्यानिएल सोरी

फ्यान अवार्ड: सिल्भिओ ग्रेक्को पाल्मेरियास

फेयर प्ले अवार्ड: मार्सेलो (लिड्स युनाइटेड)

फिफप्रो पुरुष ११: एलिसन, माथिस डे लिट, मार्सेलो, सर्गियो रामोस, भर्जिल भान डाइक, फ्रेन्की डे जोङ, एडेन हाजार्ड, लुका मोडरिच, क्रिस्टियानो रोनाल्डो, किलिएन एमबाप्पे र लिओनल मेसी।

फिफप्रो महिला ११: भान भेनेन्नडाल, लुसी ब्रोन्स, निला फिसर, केले ओ’हारा, वेन्डी रेनार्ड, जुली एर्टज, अमान्डिने हेनरी, रोस लाभेले, मार्टा, एलेक्स मोर्गन र मेगन रापिनो

साफ यू१८ च्याम्पियनसिपमा नेपाल : लक्ष्य उपाधिमा ‘ह्याट्रिक’, नतिजा समूह चरणबाटै ‘आउट’

काठमाडौं : साविक विजेता, दुई पटकको च्याम्पियन, अनी घरेलु मैदान।

तेस्रो संस्करणको साफ यू१६ च्याम्पियनसिप शुरु हुनु अघि यी विशेषणले नेपाली युवा टिमलाई बलियो टिमको रुपमा हेरिएको थियो। अनी नेपालको समूहमा रहेको तुलनात्मक रुपमा कमजोरी टोलीले गर्दा पनि यस पटक नेपालले सहजै समूह चरण पार गर्ने सबैले सोचेका थिए।

चार वर्षअघि नेपालबाटै शुरु भएको यस उमेर समूहको फुटबलमा नेपालले अहिलेसम्म दुवै संस्करणको उपाधि जितेको थियो।

यस पटक पनि नेपालमै आयोजना हुने भएपछि नेपाली टोलिको लक्ष्य सिधा थियो। घरेलु  मैदानमा घरेलु दर्शकको अगाडि च्यम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने।

तर समय सँधै एकैनासको हुँदैन। मैदानमा खेल्ने उत्रिएपछि नतिजा जस्तो सुकै पनि आउन सक्छ।

आखिर भयो पनि त्यस्तै।

नेपालले सोचेको थियो। समूह चरण सजिलै पार गर्न सकिन्छ। अनी सेमिफाइनल र फाइनलमा कडा टक्कर हुनेछ। त्यो टक्करमा सफलता हात पार्दै ट्रफी चुम्ने।

तर नतिजा ठिक उल्टो भयो। माल्दिभ्स र भुटान रहेको समूह ए मा नेपाल जितविहीन बन्यो भने तीन टोली रहेको समूहको अंकतालिकामा पूछारमा रह्यो र समूह चरणबाटै बाहिरियो।

च्याम्पियनसिपअघि जुन टोलीलाई कमजोर आँक्ने प्रयास गरियो त्यही दुई टोली नेपाल रहेको समूहबाट सेमिफायनल पुगे त्यो पनि अपराजित रहेर। अर्को संयोग के रह्यो भन्दा दुवै टोली पहिलो पटक समूह चरण पार गरेर सेमिफायनल पुगेका हुन्।

२०१५ मा भएको पहिलो संस्करणमा माल्दिभ्स र भुटान समूह चरणबाटै बाहिरिएका थिए। दुई वर्षअघि भुटानमै भएको च्याम्पियनसिपमा ५ राष्ट्र मात्र सहभागि भएकोले राउण्ड रोविन लिगको आधारमा खेलाइएको थियो। जहाँ नेपाल च्याम्पियन बन्दा घरेलु टोली रहेको भुटान चौथो र माल्दिभ्स पाँचौ बनेको थियो।

तर यस पटक दुवै टिमले सुधारिएको प्रदर्शन गर्दै अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् र उपाधिमा दाबेदारी प्रस्तुत गरिसकेका छन्।

अब फेरी कुरा गरौँ घरेलु टोली नेपालको।

यही च्याम्पियनसिपलाई भनेर माल्दिभ्सले कतारमा ट्रेनिङ गरेको थियो। भुटानले पनि पछिल्लो समय ग्रासरुट फुटबल र उमेर समूहमा निकै प्रगति गरिकसको छ। नेपालले यस्ता टोलीलाई कमजोर मान्नु नै नेपालको पहिलो गल्ती थियो। अझ नेपालले वैदेशिक प्रशिक्षण गर्न पाएन भने मैत्रीपूर्ण खेल पनि राम्रो टिमसँग खेल्न पाएन। घरेलु मैदानमा तयारि र जिल्लाको क्लब सँगको मैत्रीपूर्ण खेलको भरमा रहेको थियो नेपालको तयारी।

यसअघि दुई पटक नेपाल च्याम्पियन बनेकोले पनि यस पटक नेपाली टिमबाट उपाधि जित्ने आशा गरिएको थियो। जसले गर्दा नयाँ टिमलाई अवसर र चुनौती दुवै थियो। तर उनीहरुले अवसरलाई सदुपयोग गर्न सकेनन्।

हलचोकस्थित एपिएफ मैदानमा भइरहेको च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै माल्दिभ्ससँग १-१ को बराबरीमा रोकियो। पहिलो हाफमै गोल खाएर पछि परेको नेपालले दोस्रो हाफमा मनिस डाँगीको गोल मार्फत माल्दिभ्ससँग अंक खोस्न सफल भएको थियो।

दोस्रो खेलमा त नेपालको कमजोरि छताछुल्ला भयो। कुनै समय नेपालको लागि सबैभन्दा सजिलो प्रतिद्वन्द्वीको रुपमा रहने गरेको भुटानले नै नेपालले ३-० ले हराइदियो। नेपालले कुनै पनि उमेर समूह वा सिनियर फुटबलमा भुटानसँग बेहोरेको यो फराकिलो हार थियो। यस्तै समग्रमा यो दोस्रो हार थियो। २०१७ मा भुटानमै भएको साफ यू१८ मा नेपाल भुटानसँग १-० ले पराजित भएको थियो।

घरेलु मैदानमा नेपालको प्रदर्शन र नतिजाबाट दर्शक र फ्यानहरु निराश भइरहँदा फुटबल विश्लेषक नवीन पाँडे भने यसलाई स्वभाविक मान्छन्। ‘पछिल्लो सय हामीले फुटबलमा धेरै समयस्थाहरु सुनिरहेका छौँ। फुटबलमा ‘साइकोलोजी’ले पनि धेरै प्रभाव पार्छ। त्यसैले यो एक्सपेक्टेड नतिजा हो।’

उता नेपाली फुटबलको बागडोर सम्हालेको अखिल नेपाल फुटबल संघ (एन्फा) भने यो नतिजाबाट अचम्भित नै छ। एन्फा प्रवक्ताले नेपालको प्रदर्शनले आफूहरु ‘सरप्राइज्ड’ भएको बताए। ‘अब हामी कहाँनेर के कस्ता गल्ती भयो, त्यसलाई अध्ययन गर्छौँ। हामी यो नतिजाबाट सरप्राइज्ड छौँ।’

दक्षिण एसियाका ६ राष्ट्र सहभागि यस संस्करणमा भुटान र माल्दिभ्ससँगै बंगलादेश सेमिफाइनल पुगिसकेको छ। अब बुधवार हुने भारत र श्रीलंकाबीचको अन्तिम समूह चरण खेलले सेमिफाइनलको अन्तिम टोली टुङ्गो लगाउनेछ।

घरेलु मैदानमा उपाधि जित्दै समर्थकलाई खुशी बनाउने अवसर पाउको नेपाली टोलीले त्यसलाई सदुपयोग त गर्न सकेन नै जितविहीन हादै समूह चरणबाट बाहिरिएर सबैलाई निराश बनायो।

यसमा फुटबल खेलाडी भन्दा पनि नेपालको फुटबल चलाउने नेतृत्वमा रहेका खेलाडीहरु दोषी रहेको फुटबल बुझेकाहरुको भनाई छ।

आगामी ४ वर्षका लागि एनओसीको नेतृत्वमा जीवनराम कै निरन्तरता, भन्छन् : ओलम्पिक अभियानको जित हो

काठमाडौं, भदौ २८ गते

संघिय सांसद समेत रहेका जीवन राम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी एनओसी को आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भएका छन्।

यसअघि नै उप महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन तण्डन निर्विरोध निर्वाचित भइसकेको एनओसीका लागि शनिवार भएको चुनावी साधारण सभाबाट अध्यक्ष र महासचिवसहित १७ जना निर्वाचित भएका हुन्।

ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा भएको निर्वाचनमा जीवनरामले कूल २७ मध्ये १७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी तथा उनओसीका पूर्व उपाध्यक्ष रहिसकेका उमेशलाल श्रेष्ठले १० मत मात्र पाए।

नेपाल स्की संघका अध्यक्ष रहेका जीवन राम दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन्। यसअघि पनि उनले हक्की संघका अध्यक्ष उमेशलाल नै पराजित गरेक थिए।

जीवनराम श्रेष्ठ एनओसी अध्यक्षमा निर्वाचित भएपछि प्रमाणपत्र लिँदै

यस्तै उपाध्यक्षमा ज्योति राणा (२६), तेज बहादुर गुरुङ (२०), अशोक बज्राचार्य (१५), सुनिल श्रेष्ठ (१८) र चतुरानन्द बैद्य (२२) विजयी भए। ५ उपाध्यक्षका लागि चुनावमा ८ जनाले उम्मेदवारी दिएका थिए। जसमा पुष्प दास श्रेष्ठ ११, राजिब श्रेष्ठ ११ र समिम मिया अन्सारी १२ भने पराजित भए।

महासचिवमा यसअघि कमिटीमा सदस्य रहेका निलेन्द्र राज श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले प्रतिस्पर्धी पुरेन्द्र विक्रम लाखेलाई ३ मतले पछि पारे। श्रेष्ठले १५ मत ल्याए। यसअघि उपाध्यक्ष रहिसकेका लाखेले १२ मत पाए।

यसैगरी सचिवमा रामजी श्रेष्ठ (१८), दिपक हर्ष वज्राचार्य (२५) र तुलसी थापा (२१) विजयी भए भने राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव केशव कुमार विष्ट पराजित भए।

रामजी श्रेष्ठ भन्दा १ मत कम पाएका विष्टको ओलम्पिक छिर्ने धोको पुरा हुन सकेन।

३ सचिवका लागि ४ जनाले प्रतिस्पर्धा गरेका थिए। उप-महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन यसअघि नै निर्विरोध भइसकेका थिए।

७ सदस्यको लागि ८ जनाले उम्मेदवारी दिएकोमा रमेश प्रसाद सिवाकोटी (२६), राम अवाले (२०), प्रकाश शमशेर राणा (२६), गोपाल सुन्दर लाल कक्षपति (२६), टासी घले (२४), होम बहादुर दोङ (२५) र दिर्ग बहादुर केसी (२६) निर्वाचित भए।

एनओसी २०१९-२३ का लागि निर्वाचित १९ सदस्यीय नयाँ कार्यसमिति

उम्मेदवारी दिएका मध्ये नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा (९) मात्र पराजित भए।

एनओसी निर्वाचनको पर्यवेक्षकका रुपमा आइओसी र ओसिएबाट विनोद कुमार तिवारी आएका थिए।

ओलम्पिक अभियानको जित

लगातार दोस्रो कार्यकाल ओलम्पिक नेतृत्वमा निर्वाचित भएपछि सांसद समेत रहेका जीवनराम श्रेष्ठले चुनावमा कसैको हार नभएको र ओलम्पिक अभियानको जित भएको प्रतिक्रिया दिए। ‘कस्को जित र कस्को हार भन्ने भन्दा पनि महत्वपूर्ण कुरा नेपालको ओलम्पिक अभियानको जित भएको छ।’

‘हामी एकजुट भएर अगाडि बढ्नुपर्छ। को जित्यो को हार्‍यो भनेर दु:ख मान्नुपर्ने अवस्था छैन।’

श्रेष्ठले अब नेपालमा स्पोट्स अटोनोमी बनाउनुपर्ने बताए। ‘अब हाम्रो ध्यान नेपालको ओलम्पिक अटोनोमी र स्पोर्ट्स अटोनोमी स्ट्याबिलिस गर्नतर्फ छ। यसमा हाम्रो भूमिका रहनेछ।’