
काठमाडौं, २३ फागुन । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० को पहिलो चरणको खेल सकिएको छ । पहिलो चरणमै केही रोमाञ्चक नतिजा आए । १४ टोली सहभागि लिगमा यस पटक डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ ।
साविक विजेता मछिन्द्र एफसी पहिलो खेलमै हुनेदेखि ए डिभिजनको नवप्रवेशी दुवै टोलीको जित पहिलो चरणमै देखियो ।
पहिलो चरणको खेल दशरथ रंगशालमा र च्यासल मैदानमा खेलाइएको थियो । यसै सिजनदेखि ए डिभिजनको खेल च्यासल मैदानमा खेलाउन सुरु गरिएको हो ।
मछिन्द्र पहिलो खेलमै पराजित
पछिल्लो दुई संस्करणको च्याम्पियन मछिन्द्र लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्यमा छ । तर मछिन्द्रको त्यो लक्ष्यमा पहिलो खेलमै धक्का लाग्यो ।
गत सिजन अपराजित रहँदै लिग जितेको मछिन्द्र यस पटक पहिलो खेलमै जावलाखेल युथ क्लबसँग ३-१ ले स्तब्ध भयो । मछिन्द्रले पहिले गोल गरेपनि कायम राख्न सकेन ।
लिगअघि नकआउट प्रतियोगितामा लगातार खेल्दा खेलाडीको चोट अनी गोलकिपरको गल्तीका कारण पराजित भएको मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालको प्रतिक्रिया थियो ।
गत सिजन अधिकांश समय रेलिगेन जोनमा संघर्ष गरेको जावलाखेल बल्लतल्ल रेलिगेसनबाट जोगिएको थियो । तर यस सिजन च्याम्पियन टोलीलाई हराएर शानदार सुरुवात गर्यो । सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको जावलाखेलका लागि युवा फरवार्ड हिसुब थपलियाले एक गोल र एक असिस्ट गरे ।
यो खेल पहिलो चरणमा सर्वाधिक ३ गोल भएको खेल बन्यो । जावलाखेलसँग हारपछि लिगमा मछिन्द्रको १९ खेलको अपराजित यात्रामा समेत ब्रेक लागेको छ । २०७६ मा भएकोल लिगमा सातौं चरणमा हिमालयन शेर्पासँग पराजित भएयता मछिन्द्र १९ खेलमा अपराजित थियो । गत सिजन मछिन्द्र १३ खेलमा अपराजित रहेर दोस्रो पटक च्याम्पियन बनेको थियो ।
चर्च ब्वाइज र खुमलटारको डेब्यु जित
ए डिभिजनको नवप्रवेशी चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटारले शीर्ष डिभिजनको पहिलो खेलमै जित निकाले । यी दुईले जितका साथ ए डिभिजनमा डेब्यु गरे । डेब्यु खेलमै डेब्यु जितसहित ३ अंक जोड्न उसका लागि सुखद बन्यो ।
घरेलु फुटबलका चर्चित दुई विदेशी स्टेफन समिर विनोङ र मेसुके ओलोमोउलाई अनुबन्ध गरेको खुमलटारले उद्घाटन खेलमै फ्रेण्ड्स क्लबलाई १-० ले हरायो । त्यस खेलमा उनै मेसुले निर्णायक गोल गरे । मेसुके जारी लिगको पहिलो गोलकर्ता बने ।
उता बी डिभिजन विजेता बन्दै ए मा उक्लेको चर्च ब्वाइजले पहिलो खेलमा एक गोलले पछि परेर पनि नेपाल पुलिस क्लबलाई २-१ ले हरायो । च्यासल मैदानमा भएको ए डिभिजन यो पहिलो खेल थियो । खेलमा रवि पासवालको गोलमा पुलिसले पहिले अग्रता लिएको थियो । तर आशिष चौधरी र फ्रांकलिन क्वेटे टालाको गोलमा चर्च ब्वाइजले पुनरागमन जित निकाल्यो ।
टाला जारी लिगमा पेनाल्टीमा गोल गर्ने पहिलो खेलाडी समेत बने ।
कुनै बेला घरेलु फुटबलको बाघको रुपमा रहेको तीन पटकको च्याम्पियन पुलिसले हारबाट लिग सुरुवात गरेको छ ।
मनाङ रोकियो
यस सिजन युवा खेलाडीहरु जम्मा गरेर टिम बनाएको कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङ पहिलो खेलमा जितनजिक पुगेको थियो । तर अन्तिम ५ मिनेटमा गोल बेहवरेपछि मनाङले हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँड्यो ।
रोशन राना मगरले मनाङले सुरुमा अग्रता दिलाएका थिए । तर शेर्पाका सुरेश कुमालले बराबरी गोल फर्काए ।
आर्मी र संकटाको पहिलो गोलरहित बराबरी
आर्मी सदाबाहर रुपमा उपाधिको दाबेदार भएर पनि लिग जित्न सकेको छैन । उता संकटाले यस जित लिग जित्ने लक्ष्य राख्दै केही स्टार खेलाडी भित्र्याएको छ । दुवै टोली जितसहित लिग सुरुवात गर्ने लक्ष्यमा थिए । तर खेल गोलरहित बराबरिमा सकियो । जारी लिगको यो पहिलो गोलरहित बराबरी खेल बन्यो ।
थ्रीस्टार पराजित
मनाङ र पुलिस जस्तै अर्को चर्चित क्लब हो पाटनको थ्रीस्टार क्लब । थ्रीस्टार क्लबले पनि यस सिजन अनुभवी र नयाँ खेलाडी समेटर टिम बनाएको छ ।
तर टोली पहिलो खेलमै एपीएफसँग २-० ले पराजित भयो । गत सिजन देखि एएफसी क्लब लाइसेन्स लिँदै विदेशी खेलाडी अनुबन्ध गरेको एपीएफले यस सिजन सुरुमै विदेशी खेलाडी खेलाएर ३ अंक जोड्न सफल भयो ।
दिपकराजको दुई गोल
गत सिजन ए डिभिजनमा डेब्यु गर्दै जायन्ट किलर बनेको सातदोबाटोले चौथो स्थानमा लिग सकाएको थियो । यस सिजन क्लबमा खेलाडी केही परिवर्तन भएपनि सातदोबाटोले जितसहित लिग सुरुवात गरेको छ । च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले दिपक राज ठकुरीको दुई गोलमा एनआरटीलाई २-१ ले पराजित गरेको हो ।
दिपक राज पहिलो चरणमा एकै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी समेत बने ।
दोस्रो चरणको खेल मंगलबारदेखि
लिगको दोस्रो चरणको खेल मंगलबारदेखि सुरु हुनेछ । मंगलबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक एक खेल हुनेछ ।
यस्तै बुधबार ३ र बिहीबार २ खेल हुनेछ । दोस्रो चरणको ६ खेल दिउँसो साढे २ बजे सुरु हुनेछ भने एक खेल मात्रै साँझ साढे ५ बजे सुरु हुनेछ ।
यस्तो छ दोस्रो चरणको खेलतालिका
मंगलबार
चर्च ब्वाइज भर्सेस खुमलटार, एन्फा कम्प्लेक्स, साढे २ बजे
फ्रेन्ड्स क्लब भर्सेस थ्री स्टार क्लब, च्यासल मैदान, साढे २ बजे
बुधबार
नेपाल पुलिस क्लब भर्सेस हिमालयन शेर्पा क्लब, दशरथ रंगशाला, साढे २ बजे
एपीएफ भर्सेस सातदोबाटो क्लब, च्यासल मैदान, साढे २ बजे
मनाङ मर्स्याङदी क्लब भर्सेस संकटा क्लब, दशरथ रंगशाला, साढे ५ बजे
बिहीबार
न्युरोड टिम भर्सेस जवालाखेल, एन्फा कम्प्लेक्स, साढे २ बजे
त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब, च्यासल मैदान, साढे २ बजे
पहिलो चरणको नतिजा
एफसी खुमलटार १-० फ्रेण्ड्स क्लब
चर्च ब्वाइज युनाइटेड २-१ नेपाल पुलिस क्लब
एपीएफ एफसी २-० थ्रीस्टार क्लब
मनाङ मर्स्याङ्दी क्लब १-१ हिमालयन शेर्पा क्लब
एनआरटी १-२ सातदोबाटो युथ क्लब
त्रिभुवन आर्मी एफसी ०-०
मछिन्द्र एफसी १-३ जावलाखेल युथ क्लब
पहिलो चरणको गोलकर्ता
मेसुके ओलोमोउ (१ गोल) खुमलटार
रवि शंकर पासवान (१ गोल) पुलिस
आशिष चौधरी (१ गोल) चर्च ब्वाइज
फ्रांकलिन क्वेटे टाला (१ गोल) चर्च ब्वाइज
मणि कुमार लामा (१ गोल) एपीएफ
अर्मान्ड बेउडोम (१ गोल) एपीएफ
रोशन राना मगर (१ गोल) मनाङ
सुरेश कुमार (१ गोल) हिमालयन शेर्पा
दिपक राज ठकुरी (२ गोल) सातदोबाटो
निकोलस सङ (१ गोल) एनआरटी
देवेन्द्र तामाङ (१ गोल) मछिन्द्र
हिसुब थपलिया (१ गोल) जावलाखेल
मासोबी (१ गोल) जावलाखेल
सिमान्ता थापा (१ गोल) जावलेखल