
GRN Sports
१९ बैशाख । काठमाडौं ।
मंगलबार, १९ बैशाख २०८० । नेपाली क्रिकेटको लागि ऐतिहासिक दिनको रुपमा रहनेछ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कप क्रिकेटको लागि छनोट भएको छ । जहाँ एसियामा मात्र नभएर विश्वकै क्रिकेट पावर हाउस राष्ट्रहरु छन् । हो त्यसमा पनि भारत पाकिस्तान दुई ठूला क्रिकेट राष्ट्र हुन् ।
हो अब नेपालले त्यही भारत र पाकिस्तानसँगै एसिया कप खेल्ने भएको छ ।
हो यो सपना अब सपना रहेन । नेपालले मंगलबार युएईलाई घरेलु मैदानमा ७ विकेटले हराउँदै प्रिमियर कपको उपाधि उचाल्यो अनी एसिया कपमा स्थान बनायो ।
एसिया कप आउने सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । प्रिमियर कप जितेको नेपाल एसिया कपमा त्यही भारत र पाकिस्तान रहेको समूहमा परेको छ ।
अब नेपालले त्यही दुई देशसँग ओडिआई क्रिकेट खेल्नेछ । नेपाली टिम समर्थक सबैको सपनाको अब पूरा हुने भएको छ । अब नेपालली बलरले पनि रोहित शर्मा, विराट कोहली, बाबर अजाम, मोहम्मद रिजावन जस्ता ब्याटरलाई बलिङ गर्नेछ भने विश्वकै तिव्र गतिका बलरहरु शाहिन शाह अफ्रिकी, हरिस राउफ, मोहम्मद सिराज जस्ता खेलाडीलाई रन हान्नेछ ।
एसीसी प्रिमियर कपको विजेताले एसिया कपमा स्थान बनाउने प्रावधान थियो । १० राष्ट्र सहभागि प्रिमियर कपमा नेपाल अपराजित रहँदै च्याम्पियन बनेर एसिया कपको टिकट काटेको हो ।
हुनत नेपालले क्रिकेट विश्वकप लिग टु मा शीर्ष तीनमा रहेर आगामी जुन-जुलाईमा जिम्बावेमा हुने वर्ल्ड कप क्वालिफायरमा स्थान बनाइसकेको छ । त्यहाँ पनि नेपालले कम्तीमा दुई टेष्ट राष्ट्रसँग खेल्ने पक्का छ । क्वालिफायरको तालिका आएपछि नेपालले खेल्ने टिमको टुङ्गो लाग्नेछ । अहिलेसम्म पूर्व विश्वकप विजेता श्रीलंका र वेष्ट इन्डिजसँगै जिम्बावे जस्ता टेष्ट राष्ट्रले क्वालिफायर खेल्ने पक्का भइसकेको छ ।
नेपालले क्वालिफायर खेलपछि एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ । जुन नेपाली क्रिकेटको ठूला सपनाको रुपमा रहेको थियो ।
दुई दिनको खेल
नेपालले कीर्तिपुर मैदामा प्रिमियर कप जितेर इतिहास रच्दा दुई दिन खेल्नुपर्यो । सोमबार सुरु भएको फाइनल खेल मंगलबार मात्र सम्पन्न भयो । टेष्ट क्रिकेट जस्तै ५० ओभरको क्रिकेटमा पनि स्टम्प भएर एक दिन लम्बियो ।
यसो भएको धेरै ओभर खेल्नुपरेकोले भने होइन । मौसमले गर्दा हो । पछिल्लो दिनहरुमा नेपालमा वर्षा भइरहेको छ । प्रिमियर कपका केही खेलदाई पनि वर्षाले असर गर्यो । जसको प्रभाव फाइनलमा पनि पर्यो र यसपटक दुई दिन खेल भयो । प्रतियोगिताअघि खेलतालिका सार्वजनिक गर्दा नै फाइनलको लागि रिजर्भ डे राखिएकोले तोकिएको दिन नतिजा नआएपनि अर्को दिन खेलाएर नतिजा निकालिएको हो ।

सोमबार बिहान निर्धारित मसयमै टस गरेर खेल सुरु भएपनि दुई पटक वर्षाले खेल प्रभावित हुँदा खेल स्थगित गरिएको थियो । घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोज्दै ब्याटिङको निम्तो दिएपछि युएईले पहिले ब्याटिङ गर्यो । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दा दबाबमा परेको युएईले नियमित अन्तरमा विकेट गुमायो । सोमबार २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएपछि खेल स्थगित भयो र लगातार वर्षाका कारण फेरि सुरु हुन सकेन ।
त्यही अवस्थाबाट मंगलबार बिहान समयमै खेल सुरु भयो । युएईले थप ५.४ ओभर खेल्दै ११ रन थपेपछि अन्तिम विकेट गुमायो र ११७ रनमा अलआउट भयो । सोमबार नेपालका ललित राजवंशीले २९औंओभरको दोस्रो र तेस्रो बलमा क्रमश: आसिफ खान र जहुर खानलाई लगातार आउट गर्दै ह्याट्रिक विकेट नजिक पुगेका थिए । तर वर्षाले खेल फेरि सुरु हुन पाएन ।

मंगलबार ललित ह्याट्रिक विकेट नजिक थिए । तर युएईका जुनैद सिद्दिकीले उनको बल रोक्दा ललितले ह्याट्रिक लिन पाएनन् । यद्यपी ललितले नै ३४औं ओभरको पहिलो बलमा जुनैदलाई कुशल भुर्तेलबाट क्यचआउट गराएपछि युएई ११७ रनमा अलआउट भएको थियो । नेपालका लागि ललितले कूल ४ विकेट लिए । उनले ७.१ ओभरमा २ ओभर मेडन राख्दै १४ रन मात्र खर्चिए ।
सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३४ रन दिए भने करणले ७ ओभरमा १ मेडन राख्दै २६ रन खर्चिए । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए । २ ओभर बलिङ गरेका गुल्शनले १० रन दिएर १ विकेट लिए ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ४६ रन बनाए । अन्य खेलाडीले व्यक्गत १५ रन समेत छुन सकेनन् ।
मंगलबार पनि वर्षाको सम्भवना रहेपनि पानी भने परेन र नेपालले ३१औं ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै च्याम्पियन बन्यो । गुल्शन झाले ६७* र भिम शार्कीले ३६* रन (९६* रनको साझेदारी) बनाएपछि नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
गुल्शन ‘सो’
मोन्टी देसाईको आगमनपछि ‘ह्याप्पी ड्रेसिङ रुम’ र ‘वान बल ब्याटल’ खुबै चर्चामा रह्यो । हुन पनि उनले ड्रेसिङ रुमलाई सफा राख्दै सबै टिमलाई एकजुट बनाए । खेलाडीहरुलाई वान बल ब्याटल सिकाए अनी वान गेम एट ए टाइम लिएर अघि बढाए । यसले खुबै काम गर्यो ।
जसको उपलब्धी यसअघि लिग टु मै देखियो । नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै असम्भव जस्तै मानिएको अवस्थामालाई सम्भव बनाएर लिग टु को शीर्ष तीनमा रहेर वर्ल्डकप क्वालिफायर स्थान बनाएको थियो ।
यस पटक एसीसी प्रिमियर कपको फाइनलमा देसाईले अर्को फरक परिक्षण गरे । हुनत उनी आएपछि वान डाउन अर्थात तेस्रो नम्बरमा धेरै खेलाडीलाई खेलाइसकेका छन् । सुरुमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले तेस्रव क्रममा ब्याटिङ गरिरहेका रहेका थिए । लिग टु मै परिस्थिती अनुसार देसाईले कुशल मल्ल देखि भिम शार्कीलाई तेस्रो नम्बरमा खेलाए ।
मंगलबार गुल्शनको पालो थियो । हुनत प्रिमियर कपमा गुल्शन पहिलो रोजाँमा इन आउट भइरहेका थिए । देसाईले करण केसी र गुल्शनलाई अल्टर गरिराखेका थिए । तर फाइनलमा करण र गुल्शन दुवै पहिलो रोजाईँमा थिए । ब्याटिङमा लयमा नरहेका दीपेन्द्र सिंह ऐरीको स्थानमा गुल्शनले पहिलो रोजाईँमा फाइनल खेले ।
उनले बलिङमा एक विकेट र एक क्याच लिएका थिए । लक्ष्य थोरै भएकोले ब्याटिङमा उनको पालो नै नआउने सम्भावना समेत थियो ।
तर नेपालले दोस्रो ओभरै ओपनर कुशल भुर्तेललाई १ रनमा गुमाएपछि देसाईले तेस्रो नम्बरमा गुल्शनलाई पठाए । लेफ्ट ह्यान्डेड ब्याटर गुल्शनले यसअघि लोहर मिडल अर्डरसम्म ब्याटिङ गरेका थिए । तर लेफ्ट ह्याण्ड ब्याटिङ गर्ने भएकोले उनले तेस्रो नम्बरमा ब्याटिङ गरे । त्यसपछि नेपालले अर्का ओपनर आसिफ शेखलाई ८ रन र कप्तान रोहित पौडेललाई १ रनमा गुमाएपछि नेपाल २२-३ को अवस्थामा पुगेको थियो ।
तर गुल्शनले इनिङ्स सम्हाले । उनले चौथो विकेटका लागि भिम शार्कीसँग अविजित ९६ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । यस क्रममा गुल्शनले विजयी रन प्रहार गरे । ओडिआई क्रिकेट करियरमा दोस्रो अर्धशतक बनाए । यसअघि लिग टु अन्तर्गगत २ चैत २०७९ मा युएई विरुद्ध नै निर्णायक खेलमा गुल्शनले अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा गुल्शनले युएईका कप्तान मोहम्मद वासिमलाई एकै ओभरमा २० रन प्रहार गरेपछि नेपालले डिएलएस मेथडमा अगाडि रहँदै ९ रनले विजयी भएको थियो ।

यस पटक गुल्शनले टप अर्डरमा ब्याटिङ गर्दै सम्हालिएर खेले अनी खराब बलमा छक्का चौका पनि प्रहार गरे । उनले ८४ बल खेल्दै अविजित ६७ रन बनाए । यस क्रममा ३ चौका र ६ छक्का प्रहार गरे ।
गुल्शनलाई भिम शार्कीले गतिलो साथ दिए । भिमले टिकेर साथ दिए । पछि गति बढाउँदै ७२ बलमा अविजित ३६ रन बनाए । जसमा ३ चौका प्रहार गरे । युएईका रोहन मुस्ताफाले २ र आयान अफजल खानले १ विकेट लिए ।
PHOTO: CAN