
GRN Sports
काठमाडौं, ३ चैत ।
नेपाली क्रिकेट टोलीले पछिल्लो एक महिना सनसनी प्रदर्शन गर्यो । यस्तो माहोल बन्यो कि नेपालले खेलेपछि जित्छ । मैदानमा पनि त्यस्तै देखियो । तीन शृखंलामध्ये दुईमा क्लिन स्पीप, १२ मध्ये ११ खेलमा जित ।
यसको नतिजा नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु को शीर्ष तीन स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान बनाउन सफल भयो ।
यसले नेपाली क्रिकेटमा ठूलो अर्थ राख्नेछ । बिहीबार युएईलाई अन्तिम खेलमा हराएपछि कप्तान रोहित पौडेलले पनि यो जित महत्वपूर्ण भन्दै ओडिआई मान्यतासहित विश्वकप छनोटमा पुग्ने सपना पूरा भएको बताएका छन् ।
एक महिनाअघि नेपाल ७ राष्ट्र सहभागि लिग टु मा छैटौं स्थानमा थियो । जतिबेला नेपालले १२ खेल खेल्न बाँकी थियो । यस्तोमा नेपालले शीर्ष तीनको भन्दा पनि ओडिआई मान्यता कसरी बचाउने भन्ने कुरामा केन्द्रित थियो ।
नेपाली क्रिकेटमा केही राम्रो भइरहेको थिएन । विभिन्न समस्या थियो । ठिक त्यसैबेला क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्दै ठूलो जिम्मेवारी दिएको थियो ।
उनै देसाईले नेपाललाई ओडिआई मान्यता बचाउने देखि विश्वकप छनोटमा पुर्याउने सम्मको काम गरे ।
लिग टु को पछिल्लो तीन शृखंलामा नेपालले गज्जबै प्रदर्शन गर्यो । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालले यो प्रदर्शनको ठूलो चर्चा पायो ।
लिग टु मा घरेलु मैदानमा दुई शृखंला क्लिन स्वीप गर्दै नेपालले अर्को कीर्तिमान बनायो । यस्तै अन्तिम ६ खेल लगातार जितेर नेपालले ओडिआईमा आफ्नो लगातार जितको नयाँ कीर्तिमान पनि बनायो । यसअघि युएईसँग पराजित हुनुअघि नेपालले लगातार ५ खेल जितेको थियो ।
यस क्रममा नेपालले पपुवा न्यु गिनीलाई ४ पटक, युएईलाई ३ पटक तथा लिग टु च्याम्पियन स्कटल्याण्ड र नामिबियालाई समान २ पटक हरायो । नेपालले एक खेलमा मात्र युएईसँग पराजित भयो ।
नेपाल अहिले नै विश्वकपमा पुगिसकेको छैन । विश्वकपका लागि अन्तिम चरणको छनोट खेल्नका लागि छानिएको थियो । विश्वकप नेपालका लागि अझै टाढा छ । तर नेपालले जसरी उत्कृष्ट प्रदर्शन गर्दै एक पछि अर्को खेल जित्यो । त्यो वास्तवमै अदित्तिय नै थियो ।
लिग टु मा नेपालले ३६ मध्ये १९ खेल जित्यो । ४० अंक जोडेर तेस्रो भयो । स्कटल्याण्ड ५० अंक जोडेर च्याम्पियन बन्दा ओमान ४४ अंकसहित दोस्रो भयो ।
लिग टु बाट यी शीर्ष तीन टिमले आगामी जुन जुलाईमा जिम्वावेमा हुने विश्वकप क्वालिफायर खेल्नेछ । जहाँ १० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टिम मात्र भारतमा हुने विश्वकपमा छनोट हुनेछ । विश्वकप क्वालिफायरमा लिग टु को शीर्ष तीन टिमसहित आईसीसी सुपर लिगका पूछारका ५ टिम र प्लेअफ क्वालिफायरबाट आउने शीर्ष २ टिम हुनेछन् ।









टेष्ट राष्ट्रसँग खेल्ने अवसर
नेपालले यसअघि पनि लगातार दुई पटक विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता खेलेको थियो । तर त्यसबेला भन्दा अहिले अली फरक अवस्था छ । यस पटक नेपालले ठूला टेष्ट राष्ट्रसँग खेल्ने अवसर पाउने पक्का छ ।
किनकी विश्वकप जितिसकेको श्रीलंका र वेष्ट इन्डिजसँगै दक्षिण अफ्रिकामध्ये कम्तीमा दुई टिमले पनि यस पटक विश्वकप छनोट खेल्दैछन् । आयोजक जिम्वावेले पनि छनोट खेल्ने पक्का भइसकेको छ । त्यसैले यस पटक चार टेष्ट राष्ट्रले विश्वकप छनोटमा खेल्नेछन् ।
जसले गर्दा नेपालले कम्तीमा पनि दुई ठूला टिमसँग विश्वकप छनोटमा खेल्ने अवसर पाउनेछ ।
टेष्ट राष्ट्र र नेपाल भन्दा माथिल्लो स्तरका टिम हुने भएकोले शीर्ष दुईमा रहेर विश्वकप खेल्नु नेपालका लागि ठूलै चुनौती हुनेछ । तर ठूला टिमसँग खेल्दै युवा खेलाडीको लागि एक्पोजर पाउनु र अनुभव लिनु नेपालको लागि ठूलो फाइदा हुनेछ ।
विश्वकप छनोटमा आफ्नो समूहमा शीर्ष तीनमा रहन सके नेपालले नेपालले अरु ठूलो टिमसँग खेल्ने अवसर पाउनेछ । त्यसैले जिम्बावेमा हुने विश्वकप छनोट नेपालका लागि निकै महत्वपूर्ण हुनेछ ।
जिम्बावेमा हुने विश्वकप छनोटमा कूल १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । एक समूहमा पाँच टिम हुनेछ । दुवै समूहको शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यसबाट शीर्ष दुई टोली अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा छनोट हेनछ ।
सुपर लिगबाट आयोजक भारतसहित इंगल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेका छन् । अब वेष्ट इन्डिज, साउथ अफ्रिका, श्रीलंका र आयरल्याण्ड मध्ये एक टिमले सुपर लिगबाट सिधै विश्वकपमा स्थान पक्का गर्नेछ । बाँकी टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।
आयोजक जिम्बावे र नेदरल्याण्ड्सयसअघि नै सुपर लिगको अन्तिम दुईमा रहने पक्का भइसकेको छ ।
यसअघि पनि खेलेको थियो विश्वकप छनोट
नेपालले यसअघि पनि एकदिवसीय विश्वकपको छनोट खेल्दै आएको छ । तर त्यसबेला र अहिलेको अवस्था फरक छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हरेक विश्वकपका लागि फरक तरिकाले छनोट प्रतियोगिता गर्दै आएको छ र हरेक चार वर्षको क्रिकेट साइकल समेत फरक रहँदै आएको छ ।
नेपालले यसअघि दुई पटक विश्वकपको अन्तिम चरण खेलेको थियो जस बारे यहाँ चर्चा गरिएको छ ।
यसअघि सन् २०१८ मा नेपालले जिम्बावेमा खेलेको थियो । त्यो बेला ओडिआई मान्यताको लागि छनोट महत्वपूर्ण थियो ।
जहाँ नेपालले टेष्ट राष्ट्र जिम्बावेसँग पनि खेल्ने अवसर पायो । यस्तै नेपालले अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग समूह चरणमा खेल्यो । समूहमा शीर्ष तीनमा पर्न नसकेपछि नेपालले सिधै ओडिआई मान्यता पाएन । प्लेअफमा पपुवा न्यु गिनीलाई हराएर नेपालले पहिलो पटक ओडिआई मान्यता पाएको थियो । २०१५-१७ को वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा अन्तिम दुई स्थानमा रहेपछि नेपालले डिभिजन टु घटुवा भएको थियो । तर डिभिजन टु मा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुईमा रहेर विश्वकप छनोटमा पुगेको थियो ।
२०१४ मा पनि नेपालले न्युजिल्याण्डमा विश्वकप छनोट खेलेको थियो । त्यसबेला छनोटमा एसोसिएट राष्ट्रहरु मात्र सहभागि थियो । १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । तर नेपाल आफ्नो समूहमा स्कटल्याण्ड हङकङ युएई र क्यानडासँग पराजित हादै अन्तिममा रह्यो र अगाडि बढ्न सकेन । जसले गर्दा नेपालले ओडिआई मान्यता पाउने सम्भावना समेत गुमेको थियो ।
त्यसअघि भने नेपालले विश्वकपका लागि छनोट चरणहरु खेलेपनि अन्तिम चरणको छनोटमा पुग्न सकेको थिएन ।
PHOTO : CAN