
काठमाडौं, ३ चैत ।
नेपालले युएईलाई डिएल मेथडमा ९ रनले पराजित गर्दै विश्वकप क्वालिफायरमा स्थान बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ को सबै खेलहरु सकिएको छ ।
२०१९ बाट सुरु भएको लिग टु २१ शृखंला र १२६ खेलपछि बिहीबार समाप्त भयो । अन्तिम शृखंला नेपालमा भएको थियो । नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित उक्त शृखंलामा चारै खेल जितेर नेपालले क्लिन स्वीप गर्यो । नेपालले ३६ खेलबा६ ४० अंक जोड्दै नामिबियालाई पछि पारेको तेस्रो स्थानमा उक्लँदै जिम्बावेमा आगामी जुन जुलाईमा हुने विश्वकप क्वालिफायरमा स्थान बनायो । च्याम्पियन स्कटल्याण्ड र दोस्रो भएको ओमानले यसअघि नै क्वालिफायरमा स्थान बनाइसकेको छ ।
उत्कृष्ट ७ एसोसिएट टिम सहभागि लिग टु मा हरेक टिमले ९ शृंखला खेले । जसमा ३६ खेल समावेश थियो ।
सबै खेल सकिएपछि धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडीहरुको सूची यस्तो छ ।
धेरै रन बनाउने खेलाडी

नामिबियाका कप्तान गेर्हार्ड एरासमस लिग २ मा सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ३४ खेल खेल्दै १ शतक र ११ अर्धशतक मद्दतमा १ हजार २९८ रन बनाए । पपुवा न्युगिनीका कप्तान असद भालाले सबै ३६ खेल खेल्दै १ हजार २९० रन सहित दोस्रोमा रहे । उनले १ शतक र ६ अर्धशतक प्रहार गरे ।
यस्तै अमेरिकाका कप्तान मोनाक पटेलले १ हजार २ १९ रन बनाउँदै तेस्रोमा रहे । ८ खेलाडीहले १ हजार भन्दा माथि रन बनाए ।
नेपालबाट आसिफ शेख सर्वाधिक रन बनाउनेमा अघि रहे । ३० खेल खेलेका आसिफले १ शतक र ७ अर्धशतकसहित ९३४ रन बनाए । यस्तै ३३ खेल खेलेका कप्तान रोहित कुमार पौडेलले ६ अर्धशतक मद्दतमा ९०९ रन बनाए । सर्वाधिक रन बनाउनेमा आसिफ १२औं र रोहित १३औं स्थानमा छ । कुशल भुर्तेल २९ खेलबाट ६८१ रन सहित सर्वाधिक रन बनाउनेमा १९औं स्थानमा रहे ।
धेरै विकेट लिने खेलाडी
लिग २ मा सर्वाधिक विकेट लिनेमा ओमानका विलाल खान अगाडि रहे भने नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा रहे ।

७० विकेट लिनेमा बिलाल र सन्दीप मात्र रहे । बिलाल खानले ३५ खेल खेल्दै सर्वाधिक ७६ विकेट लिए । बिलाल भन्दा चार खेल कम खेलेका सन्दीपले ३१ खेलमा ७२ विकेट लिए । तेस्रो स्थानमा रहेका अमेरिकाका सौरभ नेत्रभाल्करले ३५ खेलबाट ५८ विकेट लिए । स्कटल्याण्डका मार्क वाटले ३१ खेलमा ५४ र नामिबियाका रुबेन ट्रम्पलम्यानले २९ खेलमा ५१ विकेट लिए ।
५० विकेट लिने अर्का नेपाली खेलाडी करण केसी रहे । करणले ३० खेल खेल्दै ५० विकेट लिएका हुन् ।
लिग २ मा सर्वाधिक रन बनाउने र विकेट लिने २० खेलाडीहरु


स्रोत : आईसीसी/क्रिकइन्फो