
काठमाडौं, १ चैत ।
शहीद स्मारक लिग ए डिभिजन २०७९-८० को चौथो चरणका खेलहरु सकिएका छन् । बुधबार दशरथ रंगशालमा न्युरोड टिम (एनआरटी) लाई ३-१ ले हराएर मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रालाई चार खेल सम्म कायम राखेको छ ।
चौथो चरणसकिँदा मनाङसँगै चर्च ब्वाइज युनाइटेड मात्र अपराजित छन् । चौथो चरणमा त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबको अपराजित यात्रा टुङ्गिएको छ ।
चर्च ब्वाइज र मनाङ अपराजित
अपराजित दुईमध्ये मनाङ कीर्तिमानी ८ पटकको लिग च्याम्पियन हो भने चर्च ब्वाइज बी डिभिजन च्याम्पियन बन्दै शीर्ष श्रेणीमा लिग खेलिरहेको छ ।
अनी चर्च ब्वाइजले मनाङका कप्तान अन्जन विष्टसहित नाम चलेका खेलाडीहरु भित्र्याएर पहिलो पटक ए डिभिजन लिग खेलिरहेको छ ।
चर्च ब्वाइज र सातदोबाटोले तेस्रो चरणसम्म शतप्रतिशत जित निकालेका थिए । तर चौथो चरणमा दुवैको जित यात्रामा भने ब्रेक लाग्यो ।
चर्च ब्वाइज संकटा क्लबसँग गोलरहित बराबरीमा रोकियो । यद्यपी अपराजित यात्रा कायम राख्दै चार खेलबाट १० अंक जोडेर शीर्ष स्थानमै छ । चर्च ब्वाइजले तीन खेल जित्दा एक बराबरी खेलेको हो ।
सातदोबाटो भने चौथो चरणमा थ्री स्टारसँग १-० ले पराजित भयो । सातदोबाटो तीन जित र एक हारपछि ९ अंक जोडेर दोस्रो स्थानमा छ ।
अपराजित रहने अर्को टिम मनाङ दुई जित र दुई बराबरीबाट ८ अंक जोडेर शीर्ष तीनमा उक्लेको छ । थ्री स्टार ७ अंक जोडेर छैटौं स्थानमा छ ।
अर्को नवप्रजेशी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ ले हराएर दोस्रो जित निकालेको छ ।
आर्मीको १६ खेलको अपराजित यात्रा ब्रेक
तेस्रो चरणसम्म अपराजित रहेको त्रिभुवन आर्मी एफसी भने सिजनको पहिलो विभागीय डर्बीमा एपीएफ एफसीसँग १-० ले पराजित भयो ।
यस हारपछि लिगमा आर्मीको १६ खेलको अपराजित यात्रा टुङ्गिएको छ । २०७६ सालको लिगको अन्तिम खेलमा मछिन्द्रसँग पराजित भएको आर्मी २०७८ सालको लिगभर १३ खेलमा अपराजित थियो ।
मछिन्द्र र फ्रेण्ड्सको पहिलो जित
साविक विजेता मछिन्द्र एफसीले भने चौथो चरणमा आएर पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेलेको थियो ।
चौथो चरणमा नेपाल पुलिस क्लबसँग एक गोलले पछि परेको अस्थामा पुनरागमन गर्दै मछिन्द्रले २-१ ले खेल जितेको थियो ।
सुरुवाती तीन खेलमा अपराजित रहेको जावलाखेल युथ क्लब चौथो चरणमा आएर फ्रेण्ड्स क्लबसँग २-१ ले पराजित भयो । जावलाखेलले पहिलो हार बेहवर्दा फ्रेण्ड्सको भने यो पहिलो जित हो ।
पुलिसको लगातार चौथो हार
लगातार ट्टीन पटक लिग जितेर उपाधिमा ह्याट्रिक गर्ने तीन टिम मध्ये एक नेपाल पुलिस क्लबले भने यस सिजन लिगमा लगातार चौथो हार बेहोर्यो । लिगमै पुलिसको यो खराब सुरुवात हो ।
पहिलो खेलमै चर्च ब्वाइज विरुद्ध अग्रता लिएर पनि पराजित भएको पुलिस चौथो खेलमा मछिन्द्र विरुद्ध पनि सुरुमै अग्रता लिएर जोगाउन नसक्दा पराजित भयो ।
अनन्तराज थापा राष्ट्रिय महिला टिमको प्रशिक्षक बनेपछि क्लबकै अर्का पूर्व खेलाडी चेतन घिमिरेको प्रशिक्षणमा खेलिरहेको पुलिसले सोचे अनुसारको प्रशिक्षण गर्न सकेको छैन ।
लगातार चार हारपछि पुलिस अन्तिम स्थान रहँदै अहिले रेलिगेसन जोनमै छ । पुलिससँगै एक खेल पनि जित्न नसकेको अर्को टिम हो एनआरटी । चार खेलमा आर्मीसँग बराबरी खेल्दै १ अंक जोडेको एनआरटी पुलिस भन्दा मात्र अघि छ ।
चौथो चरणको खेलको नतिजा
हिमालयन शेर्पा १-२ एफसी खुमलटार
सातदोबाटो ०-१ थ्री स्टार
संकटा ०-० चर्च ब्वाइज
जावलाखेल १-२ फ्रेण्ड्स
मछिन्द्र २-१ पुलिस
आर्मी ०-१ एपीएफ
एनआरटी १-३ मनाङ
चौथो चरणको गोलकर्ता
मनिष थापा खुमलटार
स्टेफन समिर खुमलटार
विश्वास श्रेष्ठ हिमालयन शेर्पा
आदित्य शाक्य थ्री स्टार
रफिक अमिनु फ्रेण्ड्स
प्रकाश बुढाथोकी फ्रेण्ड्स
फोडे फोफाना जावलाखेल
आफिज ओलावाले २ गोल मछिन्द्र
अन्जन राई पुलिस
मणि कुमार लामा एपीएफ
रोशन राना मगर मनाङ
सायीदजमोल दाभ्लातजनोभ मनाङ
कोटी टिमोथी मनाङ
अशोक थापा एनआरटी
अंकतालिका

स्रोत : एन्फा