
काठमाडौं, फागुन २५ ।
शहीद स्मारक ए डिभिजन लिग २०७९-८० को दोस्रो चरणका खेलहरु बिहीबार सकिएका छन् । तीनवटा मैदानमा भइरहेको लिगमा साविक विजेता मछिन्द्र एफसी अझै अंक विहिन छ ।
शुक्रबारदेखि नै लिगमा तेस्रो चरणको खेलहरु सुरु हुनेछन् ।
त्यसअघि दोस्रो चरणमा के के भए नतिजा देखि तथ्यांकसम्म यहाँ उल्लेख गरिएको छ ।
नवप्रवेशी चर्च ब्वाइज युनाइटेडसहित जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब लगातार दुई खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ ।
दोस्रो चरणमा त्रिभुवन आर्मी एफसी र मनाङ मर्स्याङ्दी क्लबले पनि पहिलो जित हात पारेका छन् ।
साविक विजेता मछिन्द्रसहित नेपाल पुलिस क्लब र एनआरटीले भने लगातार दोस्रो हार बेहोरेको छ ।
दोस्रो चरण सकिँदा ८ क्लबले कम्तीमा एक जित निकालेका छन् । तीन क्लब जितिविहन बन्दा ११ क्लबे अंकको खाता खोलेका छन् ।
दोस्रो चरणमा पहिलो चरणको भन्दा तीन गोल बढी भयो । सबै सात खेलमा गोल हुँदा कूल १८ गोल भए । त्यसमा थ्रीस्टारका अन्जल महर्जनले एक आत्मघाती गोल गरे ।
ललितपुरे डर्बीमा फ्रेण्ड्स क्लब र थ्रीस्टार क्लबबीचको खेलमा सर्वाधिक ६ खेल भयो । च्यासलमा भएको रोमाञ्चक खेल ३-३ को बराबरीमा सकिएको थियो ।
यसअघि लिगको सुरुमा गोल कम हुने गरेपनि यस पटक दुई चरणमै ३३ गोल भइसकेको छ ।
च्यासलमै भएको सातदोबाटो र एपीएफ क्लबबीचको खेलमा सातदोबाटोमा घानाका खेलाडी विलियम ओपोकु असिडुले मैदानको मध्यभागबाटै गोल गरे ।
केही खेलमा विदेशी खेलाडीले निर्णायक गोल गरे । संकटालाई १-० ले हराउँदा मनाङका लागि उज्वेकिस्तानका सायीदजमोल दाभलात्जोनोभले निर्णायक गोल गरे ।
जावालखेल युथ क्लबले एनआरटीलाई २-१ ले हराउँदा विदेशी खेलाडी गिनीका खेलाडी फोडे फोफानाले गोल गरे ।
जावलाखेलका कप्तान सिमान्त थापाले लगातार दोस्रो खेलमा गोल गरे । यस्तै खुमलटारका क्यामरुनी खेलाडी मेसुके ओलोमोउले पनि लगातार दवस्रो खेलमा गोल गरे । तर दोस्रो चरणमा खुमलटार चर्च ब्वाइजसँगसँग ३-१ ले पराजित भयो ।
चर्च ब्वाइज, जावलाखेल र सातदोबाटोको दोस्रो जित
नवप्रवेशी चर्च ब्वाइज, जावलाखेल र सातदोबाटो युथ क्लबले लिगमा शतप्रतिशत जित निकालेको छ । आशिष चापागाँईले दुई गोल गरेपछि नवप्रेवशी क्लबबीचको भिडन्तमा चर्च ब्वाइजले खुमलटारलाई ३-१ ले हरायो ।
आशिष दोस्रो चरणमा दुई गोल गर्ने एक्लो खेलाडी बने । समग्रमा उनी लिगमा एकै खेलमा दुई गोल गर्ने दोस्रो खेलाडी बने ।
उता पहिलो खेलमा साविक विजेता मछिन्द्रलाई ३-१ ले हराएको जावलाखेलले दोस्रो चरणमा एनआरटीलाई २-१ ले हरायो ।
यस्तै सातदोबाटो युथ क्लबले एपीएफलाई १-० ले हराएर लगातार दोस्रो जित निकालेको हो ।
मनाङ र आर्मीको जित
पहिलो चरणमा बराबरी खेलेको मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीले दोस्रो चरणमा पहिलो जित निकाले । मनाङले संकटा क्लबलाई १-० ले हरायो । मनाङका लागि उज्वेक खेलाडी सायीद
आर्मीले साविक विजेता मछिन्द्रलाई २-० ले हरायो । आर्मीका लागि दिपक गुरुङ र नवयुग श्रेष्ठले गोल गरे ।
मछिन्द्रको लगातार दोस्रो हार
साविक विजेता मछिन्द्रले लिगमा लगातार दोस्रो हार बेहोर्यो । पहिलो खेलमै जावालखेलसँग स्तब्ध बनेको मछिन्द्र दोस्रो खेलमा आर्मीसँग पराजित भएको हो ।
मछिन्द्र बाहेक नेपाल पुलिस क्लब र एनआरटीले पनि लगातार दोस्रो हार बेहोरेको छ । पुलिस हिमालयन शेर्पासँग तथा एनआरटी जावलाखेलसँग पराजित भयो ।
दोस्रो चरणको नतिजा
चर्च ब्वाइज युनाइटेड ३-१ खुमलटार युथ क्लब
फ्रेण्ड्स क्लब ३-३ थ्रीस्टार क्लब
नेपाल पुलिस क्लब ०-१ हिमालयन शेर्पा क्लब
नेपाल एपीएफ क्लब ०-१ सातदोबाटो युथ क्लब
मनाङ मर्स्याङ्दी क्लब १-० संकटा क्लब
एनआरटी १-२ जावलाखेल युथ क्लब
त्रिभुवन आर्मी एफसी २-० मछिन्द्र एफसी
दोस्रो चरणको गोलकर्ता
आशिष चापागाईँ २ गोल चर्च ब्वाइज
एरिक विष्ट १ गोल चर्च ब्वाइज
मेसुके ओलोमोउ १ गोल खुमलटार
अजयी मार्टिन्स १ गोल थ्रीस्टार
योगेश गुरुङ १ गोल थ्रीस्टार
प्रदिप लम्साल १ गोल थ्रीस्टार
कुशल फुयाल १ गोल फ्रेण्ड्स
अखरोब्रेक उत्तामोभ १ गोल फ्रेण्ड्स
एन्जल महर्जन थ्रीस्टार आत्मघाती गोल
अमृत श्रेष्ट हिमालयन १ गोल शेर्पा
विलियम ओपोकु असिडु १ गोल सातदोबाटो
सायीदजमोल दाभलात्जोनोभ १ गोल मनाङ
सिमान्त थापा १ गोल जावलाखेल
फोडे फोफाना १ गोल जावलाखेल
सन्जिव विष्ट १ गोल एनआरटी
दिपक गुरुङ १ गोल आर्मी
नवयुग श्रेष्ठ १ गोल आर्मी
तेस्रो चरणको खेलतालिका
फागुन २६ गते शुक्रबार
खुमलटार भर्सेस थ्रीस्टार, साढे २ बजे, एन्फा कम्प्लेक्स
चर्च ब्वाइज भर्सेस हिमालयन शेर्पा, साढे ५ बजे, दशरथ रंगशाला
फागुन २७ गते शनिबार
नेपाल पुलिस भर्सेस संकटा, साढे २ बजे, च्यासल स्टेडियम
नेपाल एपीएफ भर्सेस जावलाखेल, साढे २ बजे, दशरथ रंगशाला
फ्रेड्ड्स भर्सेस सातदोबाटो, साढे ५ बजे, दशरथ रंगशाला
फागुन २८ गते आइतबार
मनाङ भर्सेस मछिन्द्र, साढे २ बजे, एन्फा कम्प्लेक्स
एनआरटी भर्सेस आर्मी, साढे २ बजे, च्यासल मैदान