६ जेठ, काठमाडौं
४ जेठमा मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले मंगलबार राष्ट्रिय फुटबल टिमको घोषणा गर्दा टिममा ठूलै उथलपुथल भएको छ । यही जेठ महिनामा हुने इराकसंको मैत्रीपूर्ण खेल अनी विश्वकप छनोट अन्तर्गतको ३ खेलका लागि उनले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
जसमा ६ खेलाडीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । जसमा ५ खेलाडी पहिलो पटक मात्रै सिनियर टिमको क्लोज क्याम्पमा परेका थिए । यस्तै ७ खेलाडीले टिममा पुनरागमन गर्दा गत चैतमा थ्री नेशन्स कप जित्दाको टिममा रहेका १० खेलाडी मात्र अहिले टिममा छन् ।
बैशाख ११-जेठ १ सम्म भएको पहिलो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा गरेको प्रदर्शनका आधारमा अलमुताइरीले युवा खेलाडीहरुलाई अवसर दिँदा नाम चलेका खेलाडीहरु भने टिमबाट बाहिरिए ।
यसअघि क्लोज क्याम्पका लागि ३२ जनाको नाम घोषणा गर्दा प्रशिक्षकले विकेश कुथु लगायत ८ खेलाडीलाई टिममा राखेका थिएनन् । त्यसैबाट २३ जनाको नाम घोषणा भएको हो ।
राष्ट्रिय टिमको कप्तानी गरिसकेका भरत खवास देखि रन्जित धिमालसम्मका खेलाडीहरु टिममा पर्न असफल रहे ।
एनएसएलमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरु विशाल सुनार, गौतम श्रेष्ठ, कमल थापा, आयुष घलान, सुरज जेउ ठकुरी र मनिस डाँगी पहिलो पटक सिनियर टिममा परेका हुन् ।
एनएसएलमा गौतम आयुष र कमलले पोखरा थण्डर्सबाट खेलेका थिए भने सुरज र मनिसले विराटनगर सिटी एफसीबाट खेलेका थिए । विशालले एफसी चितवनका लागि खेलेका थिए ।
थ्री नेशन्स कपमा टिममा पर्न असफल रहेका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, पुजन उपरकोटी, विकास खवास, सुमन अर्यालले टिममा स्थान बनाएका छन् । यस्तै सुमन लामा र आशिष लामाले पनि पुनरागमन गरेका छन् ।
सुमन अर्यालले एनएसएल नखेलेपनि टिममा स्थान बनाए । विकास खवासले एनएसएलको एक खेलेका थिए र पछि घाइते भएपछि उनी बाहिरिएका थिए ।
सुजल श्रेष्ठ, तेज तामाङ, रविशंकर पासवान, भरत खवास जस्ता राष्ट्रिय टिममा नियमित खेलाडी टिममा पर्न नसक्दा कमल, आयुष, सुरज र मनिसले अवसर पाएका हुन् ।
बिशाल सुनार (गोलकिपर)
नेपालका लागि उमेर समूहमा खेलिसकेका खेलाडी हुन् विशाल सुनार । उनले यू१६ र यू१८ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् । थ्री नेशन्स कपको लागि उनी बन्द प्रशिक्षणमा परेपनि अन्तिम टिममा पर्न असफल रहेका थिए ।
एनएसएलअघिको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेकोले उनी ए क्याटेगोरीमा रहँदै २ लाखमा एफसी चितवनमा अनुबन्ध भएका थिए । जहाँ उनले ५ खेल खेले । तर पाँचौ खेलमा पोखरा थण्डर्स विरुद्ध उनी रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए । उनले पहिलो खेलमै ललितपुरका कप्तान अन्जन विष्टको पेनाल्टी सेभ गरेका थिए । उक्त खेलमा विशालले उत्कृष्ट बचाउ गरेका थिए ।
पछिल्लो पटक ए डिभिजन लिग हुँदा उनले ब्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए । यस्तै पोखरामा भएको आहा रार गोल्डकपमा उनले मनाङ मर्स्याङ्दीबाट खेलेका थिए ।
राष्ट्रिय टिमका नियमित सदस्य तथा एनएसएल च्याम्पियन टिम काठमाडौं रेजर्सका कप्तान तथा मार्की खेलाडी विकेश कुथु क्लोज क्याम्पमे पर्न असफल हुँदा विशालले पहिलो पटक सिनियर टिममा स्थान बनाए ।
गौतम श्रेष्ठ (डिफेन्डर)
गौतम श्रेष्ठले एनएसएलमा पोखरा थण्डर्सबाट खेलेका थिए । पछिल्लो पटक जावलाखेल युथ क्लबबाट ए डिभिजन लिग खेलेका उनले एएफसी कप छनोटमा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेका थिए । यस्तै कीर्गिस्तानको यू२३ टिम विरुद्ध मैत्रीपूर्ण खेल समेत खेलेका थिए ।
एनएसएलमा उनले पोखरका लागि ६ मध्ये ४ खेल खेले भने तीन खेलमा पूरा समय मैदान बिताए । एनएसएलअघि नै अलमुताइरीले ३२ जना छनोट गर्दा उनी क्याम्पमा परेका थिए । पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनी क्याम्पमा पर्दै अन्तिम टिममा पर्न सफल भए ।
राष्ट्रिय टिमका नियमित सदस्य रन्जित घिमाल र अनी थ्री नेशन्समार्फत डेब्यु गरेका निशान खड्का टिममा नपर्दा गौतमले टिममा स्थान बनाए ।
कमल थापा (मिडफिल्डर)
उमेर समूहमा खेलिसकेका कमलले एनएसएलमा पोखरा थण्डर्सबाटै खेलेका थिए । भिषोण गुरुङको स्थानमा टिममा स्थान बनाएका उनले लगका पछिल्ला ३ खेल मात्र खेल्ने अवसर पाए । वैकल्पिक खेलाडीको रुपमा केही समय मात्र मैदानमा बिताएपनि उनले प्रशिक्षक अलमुताइरीलाई प्रभावित गरे ।
घरेलु फुटबलमा हिमालयन शेर्पाबाट ए डिभिजन लिग खेलेका उनी मिडफिल्डमा छरिता छन् ।
एन्फा एकेडेमीका उत्पादन कमल विमल घर्ती मगर, अनन्त तामाङ, अन्जन विष्टको ब्याचका खेलाडी समेत हुन् ।
आयुष घलान (मिडफिल्डर)
नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी हुन आयुष घलान् । सुपर लिग अघि ३रेलु पुटबलमा बिरलै नाम सुनिएका आयुषले एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जिते ।
उनले यसै सिजन बि डिभिजन लिगमा खुमलटारबाट खेलेका थिए । छोटो समयै उनी राष्ट्रिय टिमा पर्न सफल भएका हुन् । उनी हिडन ट्यालेन्टको रुपमा पोखरामा अनुबन्ध भएका थिए ।
एनएसएलमा पहिलो खेलमा वैकल्पिक खेलाडीको रुपमा ६ मिनेटमात्र खेलेका उनले त्यसपछि पाँच लिग खेलमा पहिलो रोजाईँमा रहँदै खेलेका थिए ।
एनएसएलकै क्रममा उनी प्रशिक्षक अलमुताइरीको रोजाईँमा परेका थिए ।
सुरज जिउ ठकुरी (मिडफिल्डर)
एनएसएलमा विराटनगर सिटी एफसीमा यस पटक नाम चलेका उत्कृष्ट खेलाडीहरु थिए । तर सुजर जेउ ठकुरीले अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जिते । सुरुवाती खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले पछिल्ला तीन खेल पहिलो रोजाईँमा रहँदै पूरै समय मैदानमा बिताए ।
उनले जावालखेल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए । यान ल प्रशिक्षक रहेको विराटनगर सिटीका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्न सफल भएर पहिलो पटकमै राष्ट्रिय टिममा समेत परे ।
मनिस डाँगी (मिडफिल्डर)
मिनस डाँगीले पनि एनएसएलमा विराटनगर सिटीबाटै खेले । दक्षिण कोरियामा खेल्दै चर्चा कमाएका उनले यसअघि सी डिभिजन लिग खेलेका थिए भने नेपालमा भएको साफ यू१८ च्याम्पियन समेत खेलेका थिए । विराटनगरले उनलाई हिडन ट्यालेन्टको रुपमा टिममा अनुबन्ध गरेको थियो र उनले मैदानमा पनि त्यही खालको प्रदर्शन देखाए ।
उनले एनएसएलमा विराटनगरका लागि लिगका सबै ६ खेलमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै खेलेका थिए । पहिलो रोजाईँमा पर्न नसकेपनि उनले अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनी अट्याकमा जुनसुकै पोजिसनमा समेत खेल्छन् भने बढी जसो विंगरको भूमिकामा खेल्छन् ।
उनले यसअघि खालीबारी फुटबल क्लबका लागि सी डिभिजन लिग खेलेका थिए र त्यहीबाट उनको चर्चा बढेको थियो । दक्षिण कोरियामा बस्दै आएका उनी नेपालमा नागरिकता बनाउन आएका बेला सी डिभिजन लिग खेलेका थिए ।