काठमाडौं ।
इराक एसियन कपको उपाधि जितिसकेको टिम हो । नेपालले अहिलेसम्म एसियन कप समेत खेल्न सकेको छैद्द । फिफा वरीयतामा पनि इराक नेपाल भन्दा एक सय भन्दा धेरै स्थानले माथि छ ।
दुवै टोली अहिले कतारमा हुने २०२२ को फिफा विश्वकप र चीनमा हुने २०२३ को एएफसी एसियन कपको संयुक्त छनोटको दोस्रो चरण खेलिरहेका छन् । छनोटका बाँकी खेलहरु जुन १५ सम्ममा सकाउनु पर्नेछ । नेपाल र इराक दुवैले छनोटमा समान ३ खेल खेल्न बाँकी छ ।
यसैलाई मध्यनजर गर्दै इराकले नेपालसंग मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेको थियो । छनोटमा इराकले कम्बोडिया, हङकङ र बहराइन जस्ता टिमसंग खेल्न बाँकी छ । त्यसमा अभ्यस्त हुनका लागि इराकले नेपालसंग खेल्न चाहेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार इराकसंग खेल्ने पुष्टी गरेपछि अबको एक महिनापछि अर्थात जेठ १५ गते (मे २९) मा नेपालले वरीयतामा आफूभन्दा १०३ स्थान माथि रहेको इराकसंग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालको लागि पनि विश्वकप छनोटको लागि यो तयारी हुनेछ । नेपालले समूह बी मा चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंग खेल्न बाँकी छ । यसअघिका पाँच खेलमा नेपालले एक मात्र मात्र जितेको छ । अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० ले पराजित गरेको थियो ।
कोभिड-१९ को प्रभावका कारण एसियाली फुटबल महासंघ एएफसीले एसियाली क्षेत्रका छनोटका खेलहरु न्युट्रल भेन्युमा गर्दैछ र नेपाल रहेको समूहका खेलहरु कुवेतमा हुने तय गरिएको छ । संयोगवस नेपालका नयाँ विदेशी प्रशिक्षक पनि कुवेतकै छन् । इराकसंगको खेल उनै अब्दुल्लाह अलमुताइरीका लागि नेपालको प्रशिक्षकको रुपमा पहिलो खेल हुनेछ ।
नेपालले सन् २००७ को एसियन कप च्याम्पियन इराकसंग खेल्न लागेको २० वर्षपछि पहिलो पटक हो । पछिल्लो पटक नेपालले सन् २००२ को विश्वकपको छनोट अन्तर्गत इराकसंग दुई खेल खेलेको थियो । दुवै खेलमा नेपालको पक्षमा नतिजा आउन सकेन । दुई खेलमा इराकले कूल १३ गोल गर्दा नेपालले ३ गोल फर्काएको थियो ।
सन् १९८२ मा भएको एसियन गेम्समा नेपालले पहिलो पटक इराकसंग खेलेको थियो । जहाँ नेपाल ३-० ले पराजित भएको थियो । त्यही एसियन गेम्समा समूहको पहिलो खेलमा नेपाले कुवेतसंग खेलेको थियो र ३-१ ले पराजित भएको थियो । नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल वाइबी घलेले त्यही खेलमा गरेका थिए ।
त्यसको १९ वर्षपछि नेपालले सन् २००१ मा विश्वकप छनोटमा इराकसंग दुई खेल खेलेको थियो । समूह चरणको दुवै खेलमा नेपाल पराजित भयो । पहिलो खेलमा नेपाल इराकसंग ९-१ ले पराजित भएको थियो त्यस खेलमा नेपालका लागि निराजन रायमाझीले एक मात्र गोल गरेका थिए ।
दोस्रो खेलमा नेपालले गोलअन्तर घटायो भने एक गोल बढी गर्यो । दोस्रो खेलमा नेपाल इराकसंग ४-२ ले पराजित हुँदा निराजन संगै हरि खड्काले पनि गोल गरे । त्यतिबेला हरिले इराक विरुद्ध गरेको गोल उत्कृष्ट थियो । त्यो गोललाई हरीले समेत विशेष र उत्कृष्ट गोल मानेका छन् । त्यसबेला हरिको गोललाई कमेन्टेटरले ‘इन्टेलिजेन्ट’को संज्ञा दिएको उनले सुनाएका थिए ।
निराज र हरि अहिले पनि नेपालका लागि सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दुवैले समान १३ गोल गरेका छन् ।
नेपाल भर्सेस इराक
हेड टु हेड
खेल : ३
इराक विजयी : ३
नेपाल विजयी : ०
इराकले गरेको गोल : १६
नेपालले गरेको गोल : ३