काठमाडौं : शहिद स्मारक ए डिभिजन लिगको ४१औं संस्करण शनिवार देखि शुरु भएको छ। कतार एयरवेजले मुख्य प्रायोजन गरेको लिग यस पटक कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग २०७६ को नामबाट सञ्चालन हुँदैछ। विस २०११ सालबाट शुरु भएको ए डिभिजन लिगको यो ४१औं संस्करण हो। अहिलेसम्म मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक ७ पटक लिग उपाधि जितेको छ। यस्तै रानी पोखरी कर्नर टिमले ६ पटक जितेको छ।
मंसिर २८ गते शनिवार भएको उद्घाटन खेलमा मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीलाई २-० ले पराजित गर्दै विजयी शुरुवात गरेको छ। जितबाट ३ अंक प्राप्त गरेपनि मछिन्द्रको खातामा २ अंक मात्र रहेको छ। गत वर्ष भउको ननरेलिगेसन लिगमा १४ मध्ये १३औं स्थानमा रहेको मछिन्द्रले यस पटक १ अंक शुरुमै गुमाएको हो। नन रेलिगेसन लिग भएकोले गत वर्ष अन्तिम दुई स्थानमा रहने क्लबले यसपटक क्रमश: १ र २ अंक गुमाउने प्रावधान थियो।
गत वर्षको लिग विजेता मनाङ मर्स्याङ्दी क्लबाट ७ र थ्री स्टारबाट ४ गरी ११ खेलाडी भित्र्याएको मछिन्द्रले यस पटक लिग जित्ने लक्ष्य राखेको छ।
पहिलो खेलमै जित हात पारेपछि प्रशिक्षक प्रवेश कटुवालले जितबाट खुशी रहेको बताएका छन्। पहिलो खेल जहिल्यै गाह्रो हुने र त्यसमा ३ अंक जोड्न पाउँदा खुशी लागेको प्रवेशले बताए।
उता बीबीसिका प्रशिक्षक खगेन्द्र पुनले मछिन्द्र जस्तो स्टार खेलाडी रहेको टिमसंग आफ्नो टोलीले हारेपनि राम्रो खेलको र यसमा सन्तुष्ट रहेको बताए।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले गोल गरे। खेलको ३०औं मिनेटमा विशाल राईको फ्रिकिक बीबीसीका गोलकिपरले रोक्न नसक्दा अनमार्क रहेका योगेश गुरुङले हेडमार्फत सहजै गोल गरे।
यस्तै दोस्रो हाफको पाँचौ मिनेटमा दिपक राईले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। त्यही अग्रता कायम राख्दै मछिन्द्रले खेल जितेको हो।
राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा रहेको मछिन्द्रमा गत सिजन लिग जितेको टिमका ५ खेलाडीले बीबीसी विरुद्ध खेलेका थिए। कप्तान विराजसहित गोलकिपर विशाल श्रेष्ठ मिडफिल्डरद्वय विशाल राई र हेमन गुरुङ अनी फरवार्ड दिपक राईले गत सिजन मनाङबाट लिग जितेका थिए। यस्तै मनाङबाट एएफसी कप खेलेका अभिषेक रिजाल र देवेन्द्र तामाङले पिन यस सिजन मछिन्द्रबाट खेलेका छन्। यस बाहेक डिफेण्डर विजय धिमाल रेजिन धिमाल मिडफिल्डर योगेश गुरुङ र यू २३ र यू१९ राष्ट्रिय टिमका रेजिन सुब्बाले पनि मछिन्द्रको पहिलो रोजाईँबाट खेलेका थिए। रेजिनले गत सिजन पुलिसबाट लिग खेलेका थिए। यस्तै अभिषेकले पनि मनाङ जानुअघि पुलिसबाटै गत सिजन लिग खेलेका थिए। विजय र रेजिन धिमालले भने थ्री स्टारबाट गत सिजन खेलेका थिए। यस्तै गत सिजन थ्री स्टारबाटै खेलेका बुद्ध चेम्जोङले पनि यस सिजन मछिन्द्रबाट खेलेका छन्।
उता राष्ट्रिय टिमका अर्का पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको बीबीसीमा अधिकांश खेलाडी यू१९ टिमका थिए। १५ वर्षपछि अनिल आफ्नै पूरानो क्लबाट लिग खेलिरहेका छन्। यस्तै राष्ट्रिय टिमका पूर्व खेलाडी विजय गुरुङ अनी उत्तम गुरुङले पनि यस सिजन बीबीसीबाट लिग खेलेका छन्। यू१९ लेभलमा नेपालको लागि खेलिसकेका बृजेश चौधरी, जय गुरुङ, शिशिर लेखी, रन्दिप पौडेल, रोशन राना मगर लगायत खेलाडीले बीबीसीबाट खेलेका छन्।
लिगको सम्पूर्ण जानकारी
कति खेल?
ए डिभिजनको १४ क्लबले प्रतिस्पर्धा गर्ने लिगमा कूल ९१ खेल हुनेछ। एक राउण्डमा ७ खेल हुनेछ भने कूल १३ राउण्ड हुनेछ। लिगपछि सबैभन्दा धेरै अंक जोड्ने क्लबले नै उपाधि जित्नेछ।
पुरस्कार?
लिग च्याम्पियन हुने टिमले ए डिभिजन लिगको ट्रफीसहित नगद ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले ३५ र तेस्रो हुनेले २५ लाख पाउनेछन्। यस पटक उत्कृष्ट हुने ४ खेलाडी र एक प्रशिक्षकले मोटरसाइकलको सट्टा नगद नै पाउने भएका छन्। यस पटक एन्फाले उनीहरुलाई १ लाख ५० हजारका दरले दिने बताएको छ।
एक क्लब रेलिगेसनमा पर्ने
एन्फाले गत सिजन फुटबलको माहोल फर्काउन भन्दै ननरेलिगेसन लिग गरेको थियो। जसलाई वार्म अफ लिग भनिएको थियो। त्यस लिगमा अनतिम दुई स्थानमा रहने क्लबले यस सिजन माइनस अंकबाट खेल्नुपर्ने जनाएको थियो। जसअनुसार १३औं मा रहेको मछिन्द्र क्लबले यस सिजन १ र १४औं भएको एनआरटीले २ अंक गुमाउनेछ। मछिन्द्रले पहिलो खेलमै जित हात पार्दै ३ अंक जोडेर १ अंक ऋण तिरिसकेको छ। मछिन्द्रको खातामा अब २ अंक छ।
यस सिजन भने एन्फाले अन्तिम स्थानमा रहने एक क्लब मात्र रेलिगेशनमा पर्ने जनाएको छ।
लिग खेल्ने १४ क्लब?
मनाङ मर्स्याङ्दी क्लब
थ्री स्टार क्लब
त्रिभुवन आर्मी क्लब
नेपाल पुलिस क्लब
मछिन्द्र क्लब
एपीएफ क्लब
संकटा क्लब
एनआरटी
हिमालयन शेर्पा क्लब
च्यासल युथ क्लब
ब्रिगेड ब्वाइज क्लब
जावलाखेल युथ क्लब
सरस्वती युथ क्लब
फ्रेण्ड्स क्लब