काठमाडौं : पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण जितेपछि १३औं दक्षिण एसियाली खेलकुदको समापन समारोह शुरु भएको थियो । त्रिपुरेश्वरसथित दशरथ रंगशालमा करिब ३ घण्टा चलेको उक्त समारोहमा पाकिस्तानलाई १४औं साग आयोजनाको झण्डा दिँदै १३औं संस्करणको भव्य समापन भएको छ ।
मंसिर १५ गते औपचारिक रुपमा शुरु भएको १३औं साग काठमाडौं पोखरा र जनकपुरमा गरी १० दिनसम्म सञ्चालन भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालमा उपस्थित हुन नसकेपनि समापन समारोहलाई भिडियो प्रविधिबाट सम्बोधन गर्दै साग व्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा हर्ष व्यकेत गरे। उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई नेपाल सरकारका तर्फबाट धन्यबाद पनि दिए।प्रधानमन्त्री ओलीले आगामी दिनमा खेलकुदको अझ बिकासका लागि सरकारले प्रयाप्त पहल गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री साग सकिएको भोलीपल्टै बुधवार खेलाडीलाई बोलाएर विशेष प्याकेज घोषणा गर्दैछन्।
कार्यक्रमका प्रमुख अतिथी रहेका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा हर्षित भएको बताए । ३५ बर्षअघि नेपालबाटै शुरु भएको सागको १३ औं संस्करण ऐतिहासिक साबित भएको चर्चा गर्दै उहाँले यो सफलताले बिश्वसामु नेपालको शिर अझ उचो भएको बताए । उपप्रधानमन्त्री पोखरेलले सगरमाथाको देश नेपाल अब खेलका माध्ययमबाट पनि बिश्वसामु चिनिने उल्लेख गरे ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्माले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्दै सहभागि राष्ट्र, खेल ब्यबस्थापक, खेलाडीलगायत सबैलाई धन्यबाद दिए ।
स्वागत मन्तब्य ब्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताले खेल क्षेत्रमा अझ उर्जा र उत्साह जागेको बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अबस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताए । यसअघि दुई–दुई पटक सरेको प्रतियोगिता आफू सदस्य–सचिब भएको चार महिनाभित्रै सम्पन्न गर्न सकिएको भन्दै उनले सफलताका लागि खट्ने सबैलाई धन्यबाद दिए ।
समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । सो अवसरमा बिभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजीलगायतका बिशेष प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।
प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै खेल क्षेत्रका लागि बिशेष प्याकेजको घोषणा गर्नुहुने सो अवसरमा जानकारी गराईएको थियो ।
भारतलाई सर्वाधिक स्वर्ण, नेपालाई ५१ स्वर्ण
सधैँ जस्तै भारतले पदक तालिकामा दबदबा कायम राख्दा नेपालले १३औं सागमा ५१ स्वर्ण जित्यो। ५० स्वर्ण जित्ने लक्ष्य राखेको नेपालले १ स्वर्ण थप्न सफल भयो। यसले सन् १९९९ मा नेपालले आठौं आयोजना गर्दा जितेको ३१ कीर्तिमानलाई तोड्यो । नेपालले ५१ स्वर्ण ६० रजत र ९५ कास्य जित्दै दोस्रो स्थान हात पार्यो । आठौंमा पनि नेपाल दोस्रो नै भएको थियो। यस्तै भारत १७४ स्वर्ण ९३ रजत र ४५ कास्य सहित कूल ३१२ पदक जित्दै पहिलो भयो ।
तेस्रो भएको श्रीलंकाले ४० स्वर्ण ८३ रजत र १२८ कास्य गरी कूल २५१ पदक जित्यो । पाकिस्तान ३१ स्वर्ण ४१ रजत र ५९ कास्य सहित १३१ पदक जितेर चौथो भयो भने बंगलादेश १९ स्वर्ण ३२ रजत र ८७ कास्य गरी १३८ पदक जितेर पाँचौ भयो ।
३५ वर्षे इतिहासमा पहिलो स्वर्ण जितेको माल्दिभ्सले १ स्वर्ण र ४ कास्यसहित कूल ५ पदक जित्यो । सातौँ भएको भुटानले स्वर्ण जित्न सकेन । तर ७ रजत र १३ कास्यहसित २० पदक जित्यो ।
फोटो : राखेप